खोटाङ, ९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोतीमा सञ्चालित शिखर आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट, टोपी र झोला उपलब्ध गराइएको छ । खार्मीस्थित सोती स्थायी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलमा फ्रान्समा रहनुभएका पुष्पकुमार राईले उपलब्ध गराउनुभएको रकमले खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला मङ्गलबार विद्यार्थीलाई उपलब्ध गराइएको हो ।
सोतीका स्थानीयवासी एवम् कालिका माध्यमिक विद्यालय खार्मीका शिक्षक दिपेन्द्र दाहालको समन्वयमा राईले उपलब्ध गराउनुभएको रकमबाट खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला राईका बुबा शङ्खबहादुर राई र आमा रामसरी राईको उपस्थितिमा विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर दाहालले जानकारी दिनुभएको छ । हिउँद लागेसँगै जाडो बढ्दै गएको अवस्थामा फ्रान्समा रहनुभएका राईले उपलब्ध गराउनुभएको रु ३५ हजार रकमबाट खरिद गरिएको ट्र्याकसुट, टोपी र झोला निःशुल्क पाएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु हर्षित भएका छन् ।
विद्यार्थीका अभिभावकको उपस्थितिमा आयोजना गरिएको ट्र्याकसुट, टोपी र झोला हस्तान्तरण कार्यक्रममा राईका बुबा शङ्खबहादुर र आमा रामसरीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ । आफू जन्मिएको गाउँ सोतीमा सञ्चालित शिखर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हिउँदको जाडो छल्नका लागि ट्र्याकसुट र टोपी तथा पाठ्यपुस्तक बोक्नका लागि झोला उपलब्ध गराएको राईले बताउनुभएको छ ।
वि.सं. २०५६ सालमा स्थापना गरिएको शिखर आधारभूत विद्यालयमा सोती, फूलबिसौना र डढेलीका २२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । बाल विकास केन्द्रदेखि कक्षा–३ सम्म पढाइ हुने यो शिखर आधारभूत विद्यालय सोतीका स्थानीयले देउसी÷भैलो खेलेर सङ्कलन गरेको रकमबाट स्थापना गरेका हुन् ।
खार्मीको माथिल्लो भेगका स्थानीयवासीका छोरा÷छोरीका लागि अध्ययन गर्न विद्यालय टाढा भएपछि देउसी÷भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय स्थापना गरिएको स्थानीयवासी एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका जिल्ला सदस्य हर्कराज राईले जानकारी दिनुभएको छ । स्थापनाकालमा चन्दा उठाएर सञ्चालन गरिएको यो विद्यालयमा अहिले एक जना अस्थायी दरबन्दीका शिक्षक, एक जना बाल विकास सहजकर्ता र एक जना विद्यालय कर्मचारी कार्यरत छन् ।


