खोटाङ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि तीन जना नेताको नाम सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको संयुक्त बैठकले एमाले केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय अनुसाशन आयोगका सदस्य कर्णबहादुर घले र पूर्व केन्द्रीय सदस्य खगेन्द्र राईको नाम सिफारिस गरेको हो ।
एमालेले प्रदेश समितिले समानुपातिक सांसदतर्फ बन्द सूचीमा समावेश गरिने नामहरू माग गरेकाले तीन नेताको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रत्यक्षतर्फका लागि भने पार्टीले माग गरेपछि सर्वसहमतिमा नाम सिफारिस गरिने एमालेले जनाएको छ ।
एक निर्वाचन क्षेत्र रहेको खोटाङबाट राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले मात्र अहिलेसम्म प्रत्यक्षतर्फका उम्मेदवार घोषणा गरेका छन् । जिल्लामा क्रियाशील अन्य राजनीतिक दल आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न छलफलमै रहेको बुझिएको छ ।


