खोटाङ, ८ पुस । भौतिक पूर्वाधार कार्यालय खोटाङले ११२ आयोजनाका लागि ठेक्का आव्हान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२÷८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ वटा आयोजनाको ठेक्का गर्नुपर्नेमा पूर्वाधार कार्यालयले पुस–३ गतेसम्ममा ११२ आयोजनाको ठेक्का आव्हान गरिसकेको हो ।
ठेक्का आव्हान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालय खोटाङका कार्यालय प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “कोशी प्रदेश सरकारबाट स्वीकृित प्राप्त आयोजनाको बजेटको हिसाबले ९६ दशमलव २३ प्रतिशत र आयोजना सङ्ख्याको हिसाबले ९१ दशमलव ०६ प्रतिशत आयोजनाका लागि ठेक्का आव्हान गरिसकेका छौँ । बाँकी ११ वटा आयोजना प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आव्हान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आव्हान गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।”
दश स्थानीय तह रहेको खोटाङमा चालु आर्थिक वर्ष २०८२÷८३ का लागि कोशी प्रदेश सरकारबाट स्वीकृत भएको रु एक अर्ब बढीका १६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारी अनुसार खोटाङमा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माण लगायतका आयोजना रहेका छन् ।
कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेश गर्नुपर्नेमा २४ वटा तथा दशवटा बहुवर्षीय आयोजना चालु अवस्थामा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि ठेक्का आव्हान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले जिल्लामा परेका आयोजनाहरुको ठेक्का समयमै आव्हान गरेपछि निर्माण व्यवसायीहरु पनि खुशी बनेका छन् । गत कातिक–२ गतेदेखि पुस–३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आव्हान गरेपछि निर्माण कम्पनीहरु सम्झौता गर्न भ्याइनभ्याइ भएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट परेको दाबी गरिएको छ । कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं. २ (ख)का निर्वाचित प्रदेशसभा सदस्य भूपेन्द्र राई सम्हाल्नुभएपछि करिब रु एक अर्ब बढीको १६४ वटा आयोजनाका लागि एकैसाथ बजेट विनियोजन गर्नुभएको हो ।
कोशी प्रदेश सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री राईले पहिलो पटक जिल्लामा यति धेरै आयोजनाका लागि बजेट विनियोजन गर्नुभएपछि खोटाङवासीले मन्त्री राईलाई धन्यवाद दिँदै खुशी व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जिल्लामा आएका बजेट तथा आयोजनालाई पारर्शी र गुणस्तरीय ढङ्गले कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा मन्त्री राईलाई सुझावसमेत दिइरहेका छन् ।
तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गर्नुभएको सचिवालयको दाबी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार जिल्लामा आएको आयोजनामध्ये सबैभन्दा बढी रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि रु दश करोड बजेट उपलब्ध भएको छ ।


