वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट

Halesi Khabar

खोटाङ, ८ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उहाँकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा गर्दै आएको बताउने राई थरका करिब ३०–३५ वर्षीय दुई जना व्यक्तिले बुढाथोकी दम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेका हुन् ।

बास माग्दै पुस–६ गते बेलुका घरमा आएर बसेका उनीहरुले सोही राति करिब नौँ बजे बुढाथोकी दम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुण्डल, नगद रु एक लाख ५० हजार ६०० का साथै आईएआई एघार र जेटिई ब्लेड ए ३५ मोडलको मोबाइल लुटेर लगेको पीडित परिवारले जनाएको छ । आफूहरु धामी÷झाँक्रीको कामसमेत गर्ने भन्दै बास मागेर बसेका उनीहरुले घरमा छोरा÷छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुटपाट गरेको पीडित बुढाथोकी दम्पतीले बताएका छन् ।

मध्यरात भएपछि हात बाँधेको सल दातले खोलेर हेर्दा उनीहरु नरहेको र श्रीमानको हात खुट्टा र मुख बाँधेको तार खोल्न सफल भएर आफूहरुको ज्यान बचाउन सकेको पीडित चन्द्रकुमारीले जानकारी दिनुभएको छ । घटनाको जानकारी आएपछि पुस–७ गते बिहान अस्थायी प्रहरी चौकी निर्मलीडाँडाका प्रहरी प्रमुखको नेतृत्वमा घटनास्थलको अनुसन्धान गर्दा लुटपाट गरिएको भनिएका दुईवटा साधा मोबाइल फ्याकिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

सेखुवाका वृद्धावस्थाका बुढाथोकी दम्पतीमाथि भएको लुटपाटको घटनाको विषयमा जानकारी प्राप्त भएलगत्तै कारबाहीका लागि प्रहरीलाई जानकारी गराइएको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले जानकारी दिनुभएको छ । बुढाथोकी दम्पतीको घरमा भएको लुटपाटका घटनामा संलग्न जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका व्यक्तिहरु हुनसक्ने अनुमान गरिएको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा छानबिनगरी कारबाहीको प्रक्रिया अगाडि दिन पीडित दम्पतीको तर्फबाट नातामा ज्वाइँ पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका लिलाबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दर्ता गराएका छन् । पीडित परिवारको तर्फबाट आएको उजुरीको आधारमा घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया