साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

Halesi Khabar

खोटाङ, ८ पुस । साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री उपलब्ध गराएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा विभिन्न कारणबाट अपाङ्गता गाउँपालिकाभित्रका १५ जना व्यक्तिका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिइएको छ । यस सेवाले अपाङ्गता भएका नागरिकको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

सहायता सामग्री हस्तान्तरण कार्यक्रमको अवसरमा गाउँपालिका प्रमुख राईले वडा नं. ४ का नौँ वर्षीय युवराज कटवाल र वडा नं. ५ का दश वर्षीय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपप्रमुख बिर्सिका राईसहित जनप्रतिनिधि, कर्मचारी तथा अपाङ्गता भएका व्यक्तिका अभिभावकको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख राईले अपाङ्गता कुनै कमजोरी नभइ समाजले अवसर दिन नसक्दा उत्पन्न हुने अवस्था भएको बताउनुभयो । “अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने जिम्मेवारी राज्य र स्थानीय सरकारको हो । अपाङ्गता भएका नागरिकको अधिकार, सम्मान र समावेशी विकासका लागि प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकको स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सहायक सामग्रीमा निरन्तर सहयोग गर्नेछौँ । यस्ता कार्यक्रमले अपाङगता भएका बालबालिका तथा नागरिकमा आत्मविश्वास बढाउन सहयोग पुग्नेछ ।”

गाउँपालिका उपप्रमुख राईले अपाङ्गता भएका नागरिकलाई समाजको मूलधारमा ल्याउन सबैको साझा भूमिका आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तहबाट सम्भव सबै सहयोग निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले साकेला गाउँपालिकाले अपाङ्तामैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित यस प्रकारका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया