दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

Halesi Khabar

–मिनाक्क्षी राई

खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनः निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत भानुभक्तको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम सुरु गरिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख दाहालका अनुसार भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको हो ।

भानुभक्तको सालिक पुनः निर्माणको क्रममा सालिक वरपरका खाली ठाउँमा टाईल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिन्ह राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी सौन्दर्यकरण गरिने जनाइएको छ । जीर्ण बनेको भानुभक्तको सालिक पुनः स्थापनाका लागि स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनः निर्माण्काको काम अघि बढाइएको बताइएको छ ।

सालिक भत्काइएको विषयमा समन्वय बिना काम भएको भन्ने स्थानीयको आरोपप्रति स्पष्ट पार्नुहुँदै कार्यालय प्रमुख दाहालले भानुभक्तको सालिकलाई नयाँ ढङ्गले निर्माण गरी संरक्षण गर्ने उद्देश्यले मात्र भत्काइएको जानकारी दिनुभएको छ । पछिल्लो समय सङ्घीय अनुदान कटौती हुने अवस्था रहेकाले समयमै टेन्डर प्रक्रिया अघि नबढाए बजेट फ्रिज हुने जोखिम रहेकाले निर्माण कार्य तत्काल सुरु गर्न सबै सरोकारवाला निकायसँग समन्वय गर्न नसकिएको प्रमुख दाहालको भनाइ छ ।

भनुचोकमा भानुभक्तको सालिक पुनः निर्माणका लागि कार्यालयले गत कातिक–२ गते बोलपत्र आव्हान गरेको जनाइएको छ । भानुभक्तको सालिकसहित बजार सौन्दर्यकरणका लागि कार्यालयले रु एक करोडको ठेक्का आव्हान गरेपनि सुदेवी कन्स्ट्रक्सन प्रा.लि. हलेसी खोटाङले रु ८१ लाख नौँ हजार २२९ मा सम्झौता गरेर निर्माणको काम सुरु सुरु गरेको कार्यालयले जनाएको छ ।

भनुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालय खोटाङको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली काँग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिने जनाइएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत अघि बढाइने कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले दिएको जानकारीअनुसार काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन, सौन्दर्यकरण तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

तपाईको प्रतिक्रिया