सालपा विकास बैङ्कले यही पुस–१६ गतेबाट सर्वसाधारणका लागि आईपिओ खुला गर्ने

Halesi Khabar

खोटाङ, ७ पुस । सालपा विकास बैङ्कले सर्वसाधारणका लागि यही पुस–१६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा प्रधान कार्यालय स्थापना गरेर सेवा सुरु गरेको बैङ्कले १३ वर्षपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैङ्कले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । बैङ्कले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणलाई लक्षित गरेर खुला गर्न लागिएको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओका लागि पुस–२० गतेसम्म आवेदन दिन सकिने बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिईओ) योगेन्द्र पुनले जानकारी दिनुभएको छ । “बैङ्कको कूल चुक्ता पुँजी रु ३५ करोड पुगेपछि आईपीओका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेका थियौँ । यसका लागि बोर्डले अनुमति दिइसकेको छ”, उहाँले भन्नुभयो, “यो शेयर सर्वसाधारण समूहमा निष्कासन हुन्छ । बैङ्कको कूल चुक्ता पुँजी रु ५२ करोड २३ लाख ८८ हजार पु¥याउनेगरी आईपिओ खुला गर्ने तयारी गरिएको हो । तोकिएको अवधिमा प्रयाप्त आवेदन नपरेको खण्डमा पुस–३० गतेसम्म समय थप गर्न सकिन्छ ।”

पहिलोपटक सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको शेयर प्रतिगोटा रु १०० का दरले बिक्री गरिने बैङ्कले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम दश कित्ताका लागि आवेदन दिनु पर्नेछ भने, अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने जनाइएको छ । शेयरका लागि आवेदन दिन चाहनेले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने बै्कले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैङ्कको बैङ्कले १२ वर्षपछि मोबाइल बैङ्किङ सेवा उपलब्ध गराएको थियो । आईपिओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिनुभएको छ ।

बैङ्कले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्धनका लागि शुलभ ब्याज दरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘जनता बैङ्कमा होइन, बैङ्क जनतासम्म जानुपर्छ’ भन्ने अवधारण लिएर स्थापना गरिएको सालपा विकास बैङ्क ‘एक घर, एक खाता’ परियोजनासमेत सञ्चालन गरेको छ ।

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँगै विभिन्न स्थानीय तहको छ ठाउँमा शाखा रहेको बैङ्कले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका दश वटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौँ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको छ । हलेसी, ऐसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको बैङ्कले बैङ्कले आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवासमेत प्रदान गर्दै आएको जनाइएको छ ।

दश जिल्लाका १२० जना शेयर सदस्यबाट सुरु गरिएको बैङ्कमा हाल ६८ जिल्लाका तीन हजार ५०० शेयर सदस्य रहेको सिईओ पुनले जानकारी दिनुभएको छ । स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको सालपा विकास बैङ्कको गत फागुन–२० गते सम्पन्न ११ औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया