एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

Halesi Khabar

खोटाङ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी सङ्गठनले माग गरेको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियू खोटाङले शिक्षा विकास तथा समन्वय ईकाई खोटाङमा आज (आईतबार) ध्यानाकार्षणपत्र बुझाउँदै एमाले महाधिवेशनमा सहभागी शिक्षक तथा कर्मचारीहरुलाई कानूनी कारबाहीको माग गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन खोटाङका सचिव रेसजोन राईले हस्ताक्षर गर्नुभएको पत्रमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा सञ्चालित समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा, शिक्षा शाखाका कार्यरत शिक्षक रनसेर तामाङ र रोजगार संयोजक मुकेश गेलाललाई कारबाही गर्न माग गरिएको छ । विद्यार्थी सङ्गठनले कारबाहीको माग गरेका शिक्षक तथा कर्मचारीहरुमध्ये एमाले महाधिवेशनमा सहभागी समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापाको ‘सिक्री लुटियो’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

नेपालको विद्यमान प्रचलित शिक्षा ऐन, कानून र आचारसंहिताले शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको अवस्थामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षकहरु एमाले महाधिवेशनमा सहभागी भएको पाइएपछि कारबाहीको माग गरिएको ध्यानाकार्षणपत्रमा उल्लेख छ । “यो घटनाले शिक्षकको पेशागत मर्यादा र विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर गरेको हाम्रो ठम्याइ छ”, कार्यालयमा बुझाइएको ध्यानाकार्षणपत्रमा भनिएको छ, “घटनाको तत्काल छानविनगरी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् । आगामी दिनमा शिक्षा जस्तो पवित्र थलोमा अवाञ्छित राजनीतिक गतिविधि हुन नदिन यो ध्यानाकार्षणपत्र पेश गर्दछौँ ।”

विद्यार्थी सङ्गठनले बुझाएको ध्यानाकार्षणपत्र बुझ्नुहुँदै निमित्त कार्यालय प्रमुख नन्द विश्वकर्माले कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनुभएको छ । “यो विषयको गुनासाहरु यसअघि पनि आएका थिए । आज विद्यार्थी सङ्गठले ध्यानाकार्षणपत्र बुझाएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनले बुझाएको ध्यानाकार्षणपत्र सम्बन्धित निकायमा पठाइसकेका छौँ । यो घटनाको विषयमा सम्बन्धित स्थानीय तहसँग पनि सोध्छौँ ।”

उता, गाउँपालिका प्रमुख लोकेन्द्र राईले भने, शिक्षक तथा कर्मचारीहरु एमालेको महाधिवेशनमा नभइ कार्यालयको काममा गएको दाबी गर्नुभएको छ । “समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा शुक्रबार काठमाडौँ पुगेको बुझिएको छ । शनिबार एमालेको महाधिवेशन उद्घाटन भएकाले रमित हेर्न गएका रहेछन्”, उहाँले भन्नुभयो, “गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरु कोही पनि एमाले महाधिवेशनमा सहभागी भएका छैनन् । काठमाडौँमा भएको बेला कार्यक्रममा पुगेर फोटो खिचाए होलान् । त्यो उनीहरुको स्वतन्त्रता हो ।”

गत मङिसर–२७ गतेबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको एमाले महाधिवेशनमा उक्त गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारी गाउँपालिकाको कार्यालय बन्द गरेर सहभागी हुन काठमाडौँ गएको भन्ने समाचार सार्वजनिक भएको थियो । मुक्ति खबर नामको अनलाईनमा ‘दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष र कर्मचारी कार्यालय बन्द गरेर एमाले महाधिवेशनमा’ शीर्षकमा फोटोसहितको समाचार सार्वजनिक भएपछि जनप्रतिनिधिहरुको चर्को विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया