मादक पदार्थ सेवन गरेका छिमेकीको कुटाइबाट ५८ वर्षीय रोकाको मृत्यु

Halesi Khabar

खोटाङ, ६ पुस । दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडास्थित सिगानेका ५८ वर्षीय पदम रोकाको कुटपिटबाट निधन भएको छ । सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले आज (आईतबार) बिहान करिब ११ः०० बजेको समयमा आफ्नै घरमा आएर कुटपिट गर्दा रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेर रोकाको घरमा गएका भुजेलले अन्दाधुन्द कुटपिट गर्दै बरन्डाको भ¥याङमुनि खसाल्दा मुन्टो भाँचिएको अवस्थमा मृत फेला पारिएको वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभएको छ । कुटपिटको घटनामा संलग्नलाई छुट्याउने क्रममा मृतक रोकाका बुहारीहरु एलिसा र पुष्पा रोकासमेत घाइते भएको जनाइएको छ ।

निर्मलीडाँडामा भएको घटनाको जानकारी पाएलगत्तै परिचालन गरिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको भुजेललाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइरहेको जनाइएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउने तयारी गरिएको वडाध्यक्ष कठेतले जानकारी दिनुभएको छ । एउटै गाउँका दुई व्यक्तिबीच भएको झगडामा एक जनाको मृत्यु भएपछि निर्मलीडाँडा तनावग्रस्त भएको छ ।

तपाईको प्रतिक्रिया