खोटाङ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय सदस्यमा उषाकला राई निर्वाचित हुनुभएको हो ।
जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित तीनैजना नेताहरु केन्द्रीय अध्यक्षमा निर्वाचित केपी शर्मा ओली समूहबाट निर्वाचित हुनुभएको एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । जिल्ला उपाध्यक्ष आचार्यका अनुसार विशालले एक हजार ५२७, विणादेवीले एक हजार ८४६ र उषाकलाले एक हजार ८०४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।
यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा कर्ण घले निर्वाचित हुनुभएको छ । तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओली समूहबाटै उम्मेदवार बन्नुभएका घलेले दुई हजार ४२ मत ल्याएर लेखा समिति सदस्यमा निर्वाचित हुनुभएको एमाले खोटाङले जनाएको छ ।
गत मङ्सिर–२७ गतेदेखि जारी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका पाँच नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । जसमध्ये तीन जना विजयी तथा दुई जना पराजित हुनुभएको छ ।
एमाले केन्द्रीय अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिनुभएका खोटाङका रमेशकुमार पौडेल र खगेन्द्र राई पराजित हुनुभएको छ । पौडेलले ७५८ मत र राईले ८२२ मत प्राप्त गर्नुभएको जनाइएको छ ।
ओली र पोखरेलबीच प्यानेल (समूह) बनाएर चुनावी माहोलमा होमिएका नेतामध्ये अधिकांश ओली समूहका नेताहरु निर्वाचित भएका छन् । उन्नाईस जना केन्द्रीय समितिको पदाधिकारीमा पोखरेल समूहका दुई जनामात्र विजयी भएका छन् ।


