खोटाङ, २८ मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब–ईन्जिनियरमाथि स्थानीय दुईले हातपात गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकामा कार्यरत सब–इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका कर्मचारीमाथि भएको हातपातको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनुगमन जस्तो संवेदनशील तथा सार्वजनिक हितसँग सम्बन्धित काममा खटिएका कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित, अमानवीय र निन्दनीय व्यवहार अत्यन्त दुःखद् तथा अस्वीकार्य रहेको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकारका कर्मचारीहरू विकास निर्माणकार्यलाई पारदर्शी, गुणस्तरीय र समयमै गराउने उद्देश्यले कार्यरत रहँदा कर्मचारीहरुको सुरक्षामाथि नै प्रश्न उठ्ने यस प्रकारका घटनाले समग्र स्थानीय शासन प्रणालीलाई कमजोर बनाउने खतरा पैदा गर्ने भन्दै कर्मचारीहरूले चिन्तासमेत व्यक्त गरेका छन् । यस्ता घटनाले कर्मचारीको मनोबलमा नकारात्मक असर पार्नुका साथै समग्र सार्वजनिक सेवाको मर्यादामाथि समेत प्रश्न उठाएको विज्ञप्तिमा जनाइएको छ ।
योजनाको प्राविधिक अनुगमन तथा गुणस्तर सुनिश्चित गर्न कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गरिरहेको समयमा भएको यस प्रकारको आक्रमण, आपत्तिजनक तथा निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ । “सार्वजनिक सेवा प्रवाहमा संलग्न कर्मचारीमाथि गरिएको कुनै पनि प्रकारको दुव्र्यवहार, हातपात, धम्की वा हिंसा स्वीकार्य हुने सक्दैन । कर्मचारीहरू यस घटनाको भत्र्सना गर्दछ र दोषी उपर कानून बमोजिम आवश्यक छानबिन तथा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौंँ । यस प्रकारको घटना पुनः नदोहोरिन, सबै सरोकारवाला पक्षहरूलाई सतर्क, जिम्मेवार र सहकार्यपूर्ण भूमिका निर्वाह गर्न गाउँपालिका कर्मचारी परिवार हार्दिक अपिल गर्दछ ।” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै, उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहीको प्रकृया अगाडि नबढाएसम्म कर्मचारीहरूको सुरक्षा र मर्यादा सुनिश्चित नहुने भन्दै सम्बन्धित योजना तथा कार्यस्थलका सम्पूर्ण कार्यहरू अस्थायी रूपमा टप्प रहने जनाएको छ । प्रेस विज्ञप्तिमा जन्तेढुंगा गाउँपालिकाका विभिन्न कर्मचारीहरूले हस्ताक्षर गरेका छन् ।
गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईँसहितको उपस्थितिमा अनुगमन कार्य भइरहेको बेला आफूमाथि हातपात भएको यादवले बताउनुभएको छ । “ममाथि ठूलो अन्याय भएको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “ममाथि आक्रमण गर्ने व्यक्तिहरु अहिले पनि खुलेआम हिँडिरहेका छन् । उनीहरुलाई तत्काल पक्राउगरी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस् ।”
घटनाको विषयमा आरोपित शुभचन्द्रसँग जानकारी लिनेक्रममा यादवमाथि हातपात गरेको नभइ आक्रोशित भीडलाई नियन्त्रणमा लिन खोज्दा ठेलाठेलसम्म भएको बताउनुभएको छ । “म यहाँका स्थानीवासी हुँ । यहाँ हुने हरेक विकास÷निर्माणका काममा खबरदारी गर्नु मेरो पनि कर्तव्य हो । चिसापानी बजारको सडक ढलानको काम गुणस्तरहीन भइरहेको छ”, उहाँले भन्नुभयो, “गुणस्तर कायम गर्न पटक–पटक खबरदारी गरिरहेका थियौँ । आज ढलान हुँदै थियो । खोलाबाट उठाएर ल्याएको गिटी प्रयोग गर्न लागेपछि सामान्य विवाद भएको हो । विज्ञप्तिमा भनिएजस्तो केही भएको होइन ।”
चिमापानी बजार ढलान योजनाका लागि वियन्स–अग्रिम जेभीले भ्याटसहित रु एक करोड ४४ लाख दुई हजार ३३ मा सम्झौता गरेर काम गरिरहेको छ । बजार ढलानको काममा प्रयोग गरिएका गिटीको गुणस्तरमा प्रश्न उठाउँदै दुई युवाले यादवमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।


