निर्वाचनपछि किसान, गोठला र खेतालाको सरकार बन्छ : अध्यक्ष साम्पाङ

Halesi Khabar

खोटाङ, २७ मङ्सिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्ने दाबी गर्नुभएको छ । गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जानकारी दिनुभएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहनुभएका अध्यक्ष साम्पाङले भिजन (दृष्टिकोण) नभएका नेताको हातमा देश जाँदा विकास नभएको पनि आरोप लगाउनुभयो । “अहिलेका नेताहरुसँगै कुनै भिजन छैन । विदेशीको ऋणबाट देश विकास हुँदैन”, उहाँले भन्नुभयो, “देश विकास गर्न भिजन चाहिन्छ । नेपालका अहिलेका नेताहरुसँग कसरी कमिशन खान पाइन्छ भन्ने सोँचमात्र छ । भ्रष्ट नेताहरुबाट विकास सम्भव छैन ।”

देशको वर्तमान समस्या पहिचान गर्न नसक्ने व्यक्ति नेता हुन नसक्नेसमेत अध्यक्ष साम्पाङले दाबी गर्नुभएको छ । “नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ । तपाई÷हाम्रो भोटले जितेका नेताहरुले दश वर्षसम्म एउटै योजनामा बजेट हालेर कमिशन खाइरहेका छन्”, उहाँले भन्नुभयो, “अब नुन र सुन के हो भनेर चिन्ने दिन आएको छ । आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न सम्पूर्ण देशवासीलाई आग्रह गर्छु ।”

पार्टी अध्यक्ष साम्पाङले आफ्नो अमूल्य भोट रक्सी, मासु र आश्वसनमा खेर नफाल्न पनि देशवासीलाई आग्रह गर्नुभएको छ । “गलत नियत भएका व्यक्तिहरुले तपाईको अमूल्य भोटको आधारमा देश बर्बाद पारिरहेका छन् । कसैको लहडमा लागेर आफ्नो अमूल्य भोट खेर नफाल्नुहोला !”, उहाँले भन्नुभयो, “जीन्दावाद र मुर्दावादले देश बन्दैन । गफ गरेर पनि देश बन्दैन । देश विकास गर्न श्रमदान गर्नुपर्छ । त्यो भिजन श्रम संस्कृति पार्टीसँग मात्र छ । त्यसैले सबै एकतावद्ध हुन जरुरी छ ।”

वर्तमान अवस्थाका नेपाली नेताहरु कोही पनि स्वाधिन नरहेको समेत अध्यक्ष साम्पाङले आरोप लगाउनुभएको छ । “अहिलेका ठूला राजनीतिक दलका नेताहरु नेपालको प्रधानमन्त्री बन्न विदेशीको आशिर्वाद लिने गर्छन् । विदेशीको आशिर्वादमा बनेको सरकार कसरी नेपालको सरकार हुन सक्छ ?”, उहाँले भन्नुभयो, “नेताहरु स्वाधिनताको गफमात्रै गर्छन् । अब हामीहरु नेताको गफमा भुल्न हुँदैन । हरेक नेपाली आत्म निर्भर हुनुपर्छ । अनिमात्र देशको विकास सम्भव छ ।”

सम्बोधनकै क्रममा अध्यक्ष साम्पाङले देशको शान्ति सुरक्षाको अवस्थासमेत ठीक नरहेको जानकारी दिनुभएको छ । आफ्नै नेतृत्वमा पार्टी दर्ता गरेपछि पहिलो पटक गृह जिल्ला खोटाङ आउनुभएका अध्यक्ष साम्पाङले नेपालका सबै राजनीतिक दलका नेताहरु भ्रष्ट रहेको दाबी गर्नुभएको छ ।

पार्टीका केन्द्रीय पदाधिकारीहरुको समेत सहभागिता रहेको आमसभामा सहभागी जिल्लावासीलाई अध्यक्ष साम्पाङले माटो समाएर शपथ ग्रहण गराउनुभएको छ । तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्व उपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङ लगायत विभिन्न पार्टी परित्यागगरी श्रम संस्कृति पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई अध्यक्ष साम्पाङले टीका लगाएर स्वागत गर्नुभएको छ ।

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको आमसभामा सहभागी हुनुअघि श्रम संस्कृति पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरुले मोटरसाईकल, गाडी तथा पैदल यात्रासहितको ¥यालीले दिक्तेल बजार परिक्रमा गरेको थियो । सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गरेको पार्टीले यसअघि तदर्थ समिति रहेको जिल्ला कार्यसमितिलाई आमसभाकै बीचमा पूर्णता दिएको घोषणा गरेको छ ।

श्रम संस्कृति पार्टीले खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सामाजिक अभियान्ता उमा चाम्लिङ, पहिचानवादी नेतृ सँगीता किराती र राजेन्द्र राई, सचिवमा धनिराम नछुङ, सहसचिवमा भबिराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया