ऐसेलुखर्कको दुईवटा खानेपानी योजनामा ‘एक्सन फर नेपाल’को आर्थिक सहयोग

Halesi Khabar

खोटाङ, २६ मङ्सिर । ऐसेलुखर्क गाउँपालिकाका दुईवटा खानेपानी योजना सञ्चालन गर्नका लागि ‘एक्सन फर नेपाल’ले आर्थिक सहयोग गर्ने भएको छ । वडा नं. २ बाकाचोलको लुबेरा–बादेल खानेपानी योजना र वडा नं. ७ माक्पाको रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्नका लागि एक्सन फर नेपालले रु ९३ लाख ५५ हजार १४५ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।

लुबेरा–बादेल खानेपानी योजना रु एक करोड ३६ लाख ८४ हजार ७८५ तथा रोलुखोला–नोरुङ खानेपानी योजना रु ४२ लाख ७२ हजार ९५८ लागतमा सञ्चलन हुँदै छ । आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न हुनेगरी सञ्चालन गर्न लागिएको खानेपानी योजना सञ्चालनका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समितिबीच शुक्रबार त्रिपक्षीय सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले जानकारी दिनुभएको छ ।

त्रिपक्षीय सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख गीरेन्द्रबहादु राई र प्रमुख प्रशाकीय प्रमुख थापा, एक्सन फर नेपालका तर्फबाट कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र लेखा संयोजक अजिला लिम्बु तथा उपभोक्ता समितिको तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षहरुले हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाको कार्यालय ऐसेलुखर्क बजारमा भएको त्रिपक्षीय भेलामा तोकिएकै समयमा योजना सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएका छन् ।

लुबेरा–बादेल खानेपानी योजनाका लागि गाउँपालिका रु ५० लाख ६० हजार १८ तथा उपभोक्ता समितिले रु १३ लाख ६८ हजार ४७८ बराबरको श्रमदान गर्नुपर्ने जनाइएको छ । यस्तै, लुबेरा–बादेल खानेपानी योजनाका लागि गाउँपालिकाले रु १६ लाख ३९ हजार ९८१ तथा उपभोक्ता समितिले रु.पाँच लाख ३४ हजार ११९ बराबरको श्रमदान गर्नुपर्ने त्रिपक्षीय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउनेगरी बजेटको व्यवस्था गरिरहेको गाउँपालिका प्रमुख राईले बताउनुभएको छ । “नेपाल सरकारको नीति अनुसार एक घर, एक धारा कार्यक्रम सञ्चालन गरिरहेका छौँ । हामी निर्वाचित भएर आएपछि करिब ५० प्रतिशत उपभोक्तालाई यो सेवा उपलब्ध गराइसकेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा तीन हजार ३५५ घर उपभोक्ता छन् । अब बाँकी सबै घरमा स्वच्छ खानेपाली उपलब्ध गराउनेगरी योजना बनाइएको छ ।”

लुबेरा–बादेल खानेपानी योजनाबाट बाकाचोलका १८६ घरधुरी तथा सार्वजनिकस्थलमा गरी २०४ वटा तथा रोलुखोला–नोरुङ खानेपानी योजनाबाट माक्पाका ४६ घरधुरी उपभोक्ता लाभान्वित हुने गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ । लामो समयदेखि कुवा तथा खोलाको पानी उपभोग गर्दै आएका दुई वडाका स्थानीय उपभोक्ताहरु त्रिपक्षीय लगानीमा सञ्चालन हुने खानेपानी योजनाबाट घरघरमा आउने धारामार्फत स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएपछि हर्षित बनेका छन् ।

बाकाचोलमा यसअघि कादुरीले सञ्चालन गरेको खानेपानी योजना जीर्ण बनेपछि नयाँ योजना सञ्चालन गर्न लागिएको जनाइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो ऐसेलुखर्क गाउँपालिकाले भौतिक पूर्वाधारसँगै उत्पादनमा जोड दिएको छ ।

 

 

तपाईको प्रतिक्रिया