राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट २५ वर्षीय युवक मिरेश राईको उम्मेदवारी घोषणा

Halesi Khabar

खोटाङ, २६ मङ्सिर  राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिरेश राईको एकल उम्मेदवारी घोषणा गरेको छ । पार्टीले दिक्तेलमा आयोजना गरेको सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम निवासी २५ वर्षीय युवक मिरेशले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शङ्काय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उम्मेदवार मिरेश जेनजी आन्दोलनमा सहभागी युवक हुनुहुन्छ । प्रतिनिधिसभा चुनावका लागि यसअघि उम्मेदवार भएका जिल्लाका अन्य उम्मेदवारभन्दा मिरेश कम उमेरको भएको राष्ट्रिय परिवर्तन पार्टीले दाबी गरेको छ ।

युवाको माग र पूराना राजनीतिक दलप्रति जनतामा निराशा बढ्दै गएकाले ती निराशा चिर्नका लागि आफूले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी घोषणा गरेको मिरेशले बताउनुभएको छ । आगामी फागुनमा हुने चुनावका लागि राष्ट्रिय परिवर्तन पार्टीले सात बुँदे चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेको छ ।

चुनावी घोषणापत्रमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शुन्य भ्रष्टाचार, सुशासन र इमान्दार राजनीति, अबको देश विकासमै, नेपालका युवा नेपालमै, जनताप्रति पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा तथा नेपाली भेष, न्याय, शिक्षा र स्वास्थ्यको देश भन्ने बुँदा समेटिएको छ । उम्मेदवारी घोषणासभामा सहभागी हुनुअघि दिक्तेल बजारमा चुनाव चिन्ह ‘बाँसुरी’सहितको ¥याली प्रदर्शन गरिएको थियो ।

उम्मेदवारी घोषणा गर्नुअघि राष्ट्रिय परिवर्तन पार्टी खोटाङले २१ वर्षीय युवक तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरेको थियो । समितिको उपाध्यक्षहरुमा दौमन्ता राई, पवन चौलागाई र युशन राई, सचिवमा रामकुमार राई, सहसचिवमा सुमन मगर र गंगा राई, कोषाध्यक्षमा ऋतु राई र सहकोषाध्यक्ष शम्भू नेपाली रहनुभएको पार्टीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया