खोटाङ, २५ मङ्सिर । आफै स्कुटर चलाएर उपचारका लागि अस्पताल पुगेका खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका प्रभिसन राईको मृत्यु प्रकरणमा आफन्त र अस्पतालबीच सहमति भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि यही मङ्सिर–२२ गते राति काठमाडौँको बल्खुस्थित वयोधा अस्पताल पुगेका २६ वर्षीय प्रभिसनको सोही राति मृत्यु भएपछि आफन्तहरु आन्दोलित भएका थिए ।
घाँटी दुख्ने र घाँटीमा केही अड्केजस्तो भएर स्वास–प्रश्वासमा समस्या आएपछि राति १२.५५ बजे अस्पताल पुगेका प्रभिसनको सोही रातको करिब ३ः५२ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले आन्दोलन सुरु गरेका थिए । प्रभिसनको मृत्यु भएलगत्तैदेखि अस्पताल प्रशासनबिरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबीच आज (बिहीबार) भएको दुई पक्षीय वार्ता सफल भएपछि आन्दोलन रोकिएको छ ।
आफै स्कुटर चलाएर उपचारमा गएका मृतक प्रभिसनको शव अस्पतालमै छाडेर आन्दोलनमा उत्रिएका आफन्त र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति भएको स्थानीय सविन थुलुङले जानकारी दिनुभएको छ । आन्दोलनमा सहभागी थुलुङका अनुसार अस्पतालले मृतक प्रभिसनका परिवारको आजीवन स्वास्थ्य उपचार निःशुल्क गर्ने, मृतक प्रभिसनको शव काठमाडौँदेखि खोटाङसम्म हेलिकोप्टरमार्फत लैजाने व्यवस्था गर्ने र क्षतिपूर्तिबापत नगद रु २० लाख उपलब्ध गराएपछि सहमति भएको हो ।
अफन्तले दिएको जानकारी अनुसार रातको समयमा बिरामी परेका प्रभिसनलाई अस्पतालले इमरजेन्सी वार्डमा भर्ना गरेको थियो । “अस्पतालको सल्लाह अनुसार एक्स–रे गरियो तर, केही समस्या देखिएन । ‘सामान्य अवस्था छ’ भन्दै नर्मल वार्डमा सारियो”, प्रभिसनका एक आफन्तले भने, “नर्मल वार्डमा सारिएको केही समयपछि प्रभिसनको स्वास्थ्य अवस्था गम्भीर बन्यो । राति ‘केही गर्न सकिन्न’ भन्दै बेवास्ता गरेपछि प्रभिसनलाई अकालमै गुमाउनुप¥यो । यस्तो घटना कसैको परिवारमा नपरोस् !”
स्वास्थ्यकर्मीको लापरबाहीका कारण प्रभिसनको मृत्यु भएको दाबी गर्दै आफन्तले शव बुझ्नसमेत अस्वीकार गरेका थिए । उपचारमा लागेको खर्चदेखि काजकिरिया खर्च दिनुपर्ने, क्षतिपूर्तिस्वरुप रु दश करोड दिनुपर्ने, मृतक परिवारका लागि आजीवन स्वास्थ्य शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका नौँ बुँदे मागसहित मृतक परिवारले मङ्सिर–२३ गते अस्पताललाई मागपत्र बुझाएको थियो ।


