खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो ।
बाँसजन्य स्रोतको संरक्षण, प्रवद्र्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ । नगरपालिकाले प्राप्त गरेको भुवनेश्वर प्रविधि पुरस्कार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट निर्माण कार्यमा किफायत हुने प्रविधि विकास गर्ने यस्तो प्रविधिको अनुसन्धान तथा यस्तो कार्य क्षेत्रमा प्रयोग गर्न उच्च योगदान दिन सफल अनुसन्धानकर्ता वा संस्थाको प्रोत्साहन तथा सम्मानका लागि स्थापना गरिएको पुरस्कार हो ।
कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका ७५३ वटा स्थानीयमध्ये यो नगरपालिका सबैभन्दा उत्कृष्ट भएको नगरपालिकामा प्राप्त नाष्टको पत्रमा जनाइएको छ । नाष्टका कुलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर–१२ गते बसेको नाष्टको ४९ औँ प्राज्ञसभाले यो नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’बाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।
नाष्टले प्रदान गरेको रु २५ हजार राशिको पुरस्कार नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् नाष्टका सहकुलपति महावीर पुनको हातबाट ललितपुरस्थित खुमलटारमा आयोजित कार्यक्रममा ग्रहण गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “नाष्टले प्रदान गरेको यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताका परिणाम भएको हो । नगरपालिकाको यो उपलब्धिलाई आगामी दिनमा कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा अझ प्रभावकारी काम गर्ने हौसला मिलेको छ”, उहाँले भन्नुभयो, “यो सम्मान आफैमा गर्विलो र ऐतिहासिक छ । नाष्टका विज्ञको मूल्याङ्कनबाट पाएको राष्ट्रिय सम्मानको गरिमालाई बचाइराख्न जनप्रतिनिधि तथा कर्मचारीहरु दत्तचित्त भएर अग्रणी भूमिका खेल्ने छौँ ।”
नगरपालिकालाई पुरस्कृत गर्ने नाष्टको पत्र प्राप्त भएपछि नगरपालिकाले गत बुधबार पत्रकार सम्मेलन गरेर नगरवासी तथा पुरस्कारका लागि छनोट गर्ने समितिलाई धन्यवाद ज्ञापन गरेको थियो । नगरप्रमुख भट्टराईको कार्यकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख विशन राई, प्रवक्ता दिनेशकुमार घिमिरे, नगरप्रमुख भट्टराईको प्रेस सल्लाहकार कृष्ण आचार्य लगायतको उपस्थिति थियो ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीयमध्ये सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँस सम्बन्धी उद्योगको प्रवद्र्धनको काम गर्दै आएको छ । वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि नगरप्रमुख भट्टराई र उपप्रमुख राईले आफ्नो कार्यकक्षमा कुर्सी, टेबल र दराजसमेत बाँसकै प्रयोगमा गर्नुभएको छ ।
बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न नगरप्रमुख भट्टराई गत साउन–१४ गते काठमाडौँमा सत्याग्रह बस्नुभएको थियो । नगरप्रमुख भट्टराई सत्याग्रह बसेको चार महिनापछि नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ ।
शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गर्ने तयारी गरेको जनाइएको छ । सङ्घीय सरकारले स्वीकृत गरेको मार्गदर्शनमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगको विस्तृत मापदण्डसहित भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइन समेत समावेश गरिएको छ ।
सरकारद्वारा स्वीकृत मार्गदर्शनले देशभर बाँस उद्योग स्थापना गर्न, वातावरणमैत्री भवन निर्माण र स्थानीय उत्पादन प्रवद्र्धनका लागि ऐतिहासिक कदम भएको नगर उपप्रमुख राईले बताउनुभएको छ । “सरकारको यो निर्णयले खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सिर्जना गर्ने बाटो खुलेको छ । यो देशभरका स्थानीय तह तथा उद्यमीका लागि खुशीको कुरा हो”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा १३ किसिमका बाँस पाइन्छन् । बाँस सम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा प्रवद्र्धनको काम सुरु गर्छौँ ।”
नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन–१५ गतेबाट तीन दिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन–१५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने लगायतका निर्णयहरु समेटेर खोटाङ घोषणापत्र पारित गरेको छ ।


