दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन

Halesi Khabar

खोटाङ, १८ मङ्सिर । दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन हुनुभएको छ । दुमी किरात राईहरुको उद्गमस्थल मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङमा गएराति सम्पन्न फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनले ऋखीश्वरलाई अध्यक्षमा चयन गरेको हो ।

सर्वसम्मत चयन गरिएको समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मुरह दुमी राई, दुई उपाध्यक्षहरुमा तेजमायाँ मुरह दुमी राई र शिवकुमार दिम्माचु दुमी राई तथा महासचिवमा प्रकाश दिम्माचु दुमी राई रहनुभएको छ । २१ सदस्य केन्द्रीय समितिको दुई सचिवमा हर्कजङ तुराचु दुमी राई र लवकुमार लुप्पो दुमी राई तथा कोषाध्यक्षमा मातेराज सत्म दुमी राई चयन हुनुभएको नवनिर्वाचित महासचिवले जानकारी दिनुभएको छ ।

समितिको सदस्यहरु सन्तोष सत्म दुमी राई, धनचन्द्र दिम्माचु दुमी राई, कृष्ण हदी दुमी राई, वसन्त लुप्पो दुमी राई, कृष्ण सत्म दुमी राई लगायत रहनुभएको छ । समितिको सल्लाहकारमा पूर्व सांसद् टंक कम्रचु दुमी राई, पूर्व गाविस अध्यक्ष बलराम सरचु दुमी राई, क्याप्टेन नैनबहादुर सत्म दुमी राई, गणभक्त सत्म दुमी राई, हीरामणि सत्म दुमी राई र रामबहादुर खबचु दुमी राई रहनुभएको छ ।

नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई फन्सीकीमका संस्थापक अध्यक्ष एवम् संस्कृतिविद् चतुरभक्त सत्म दुमी राईले तीन चुल्हा साँक्षी राखेर पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । ‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ आयोजना गरिएको महाधिवेशनको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गर्नुभएको थियो ।

महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको थियो । किरात राई संस्कार तथा संस्कृति झल्कने स्टलहरु राखिएको महाधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो ।

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन उद्घाटन कार्यक्रममा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ । किर्तिपुर क्याम्पसका पूर्व सहप्राध्यापक एवम् सँस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गर्नुभएको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरुको वङ्शावली सङ्कलन, लेखन तथा सम्पादन गर्नुहुने सँस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । किरात यले सम्वत् (यल थो ५०८५)को अवसर पारेर आयोजना गरिएको महाधिवेशनमा शुभकामना आदानप्रदान, साँस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने फन्सीकीमका निवर्तमान अध्यक्ष डा. नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिनुभएको छ ।

दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् । आफ्नो थातथलोमा जम्मा भएर राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको दुमी किरात राईहरुले उँधौलीको अवसर पारेर आज (बिहीबार) किरात ऐतिहासिकस्थल रुपाकोटगढीमा भूमे पूजा तथा साकेला सिली प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया