जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने

Halesi Khabar

खोटाङ, १२ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र सचिव राम माण्डुपा राईले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरु नेकपामा समाहित हुने घोषणा गर्नुभएको हो ।

जेनजी आन्दोलनका कारण निर्वाचित सरकार ढल्नु, संसद विघटन हुनु र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु धरापमा परेकाले त्यसलाई संरक्षण गर्न आफूहरु एकताको पक्षमा उभिएको प्रदेश अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जसपाका शीर्ष नेता अशोक राई पार्टीमै रहने भएपछि आफूहरुले नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

राजनीतिक दलहरूबीच विश्वासको अभाव र विभाजनका कारण लोकतान्त्रिक संस्थाहरु कमजोर हुँदा जनतामा निराशा बढेकाले जनताको निराशालाई आशामा बदल्न आफूहरु एकताको पक्षमा उभिएको विज्ञप्तिमा भनिएको छ । पछिल्लो राजनीतिक परिस्थितिमा प्रगतिशील शक्तिहरु एकतावद्ध भएर अगाढि बढेको खण्डमा मात्र प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सकिने उनीहरुको ठम्याइ छ ।

प्रदेश अध्यक्ष राईले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न आफूहरुले नेकपासँग एकता प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुहुँदै यसलाई ‘देशको राजनीतिक स्थिरता, आर्थिक सुधार र नयाँ वैकल्पिक मोर्चा निर्माणतर्फको महत्वपूर्ण कदम’ भएको बताउनुभएको छ । जेनजीहरुको मागलाई सम्बोधन गर्दै २१ औँ सताब्दीको समृद्ध नेपाल निर्माणका निम्ति प्रगतिशील शक्तिहरु एकतामा जुट्न आजको आवश्यकता रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया