एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी

Halesi Khabar

खोटाङ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

पाँच जना खुला प्रतिनिधिका लागि ४१ जना, तीन जना महिलाका लागि नौँ जना, एक जना युवाका लागि ११ जना र एक जना दलितका लागि चार जनाको उम्मेदवारी दर्ता भएको एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतिनिधि छनोटका लागि नेताहरुले उम्मेदवारी दर्ता गराए पनि सहमतिमै प्रतिनिधि छनोट हुने अध्यक्ष राईले दाबी गर्नुभएको छ ।

प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई भोलि (शुक्रबार) दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा छलफलका लागि बोलाइएको एमालेले जनाएको छ । उम्मेदवारहरु र नेताबीच हुने छलफलबाट सर्वसम्मत प्रतिनिधि छनोट गर्नेगरी तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

एमाले खोटाङको इतिहासमा अहिलेसम्म कुनै महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा चुनाव नभएको र यो पटक पनि सर्वसम्मत गरिने एमालेका पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईले बताउनुभएको छ । एमाले केन्द्रीय समितिले यही मङ्सिर–१३ गते (शनिबार) बेलुकासम्ममा जिल्लाबाट प्रतिनिधिको नामावली टुङ्ग्याएर पठाउन सर्कुलर जारी गरेको जनाइएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित भक्तपुरमा यही मङ्सिर–२७ गतेदेखि २९ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुँदैछ । भक्तपुरस्थित सल्लाघारीमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया