हलेसी तुवाचुङको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु

Halesi Khabar

खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको छ । वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद्देश्यले प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको हो ।

आधुनिक प्रविधि अपनाएर निर्माण गरिने प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणको जिम्मा लिएको प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माणको काम सुरु गरिएको हो ।

स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले आज (शनिबार) औपचारिक रुपमा शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख राईले नगरपालिकाको प्रशासनिक भवन निर्माण योजनालाई नगरको दीर्घकालीन विकासतर्फको महत्वपूर्ण कदम मानिएको बताउनुभएको छ ।

नगरपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीय चार जनाले रु एक करोडभन्दा बढी मूल्य पर्ने १२ रोपनी जग्गा निःशुल्क दिएका थिए । स्थानीयवासी पदमराज राई, भगशेर राई, मोहनबहादुर राई र डिकशेर राईले निःशुल्क जग्गा दिनुभएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यो (हलेसी तुवाचुङ नगरपालिका)सँगै सबै स्थानीय तहको आ–आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित जिल्लाका अन्य नौँ स्थानीय तहले यसअघि नै आ–आफ्नो सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् ।

तपाईको प्रतिक्रिया