बुँवाखोलामा वर्ष दिनअघि नै बन्यो १४८ मिटर लामो मोटरेबल पक्की पुल

Halesi Khabar

खोटाङ, ६ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर लगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो ।

जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुँवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिलै सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

बँुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजात गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवम् नेपाली कम्युनिष्ट पार्टीका युवा नेता वीरबल किरातीले बताउनुभएको छ । नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दूरीमै पुग्न सक्नेछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयसँग वि.सं. २०८१ वैशाख–३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम मिति वि.सं. २०८३ कातिक–२१ गतेसम्म तोकिएको थियो । तर, निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुँवाखोला मोटरेबल पक्की पुल यसअघि नै निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभएको छ ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देविस्थान–चिसापानी सडकखण्डमा पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवासुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकार अन्तरगत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

बुँवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले बताउनुभएको छ । “पुल बनेपछि स्थानीय किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि दैनिक जीवनमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पु¥याउन सकिने, विद्यार्थी तथा रोजगार खोज्ने युवालाई यात्रा छोटो र सहज हुने, बिरामीलाई आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पतालमा पु¥याउन सहज भएको छ”, उहाँले भन्नुभयो, “यो पुल हाम्रो गाउँपालिकाको समृद्धिको ढोका हो । तोकिएको समयभन्दा अगाडि नै पुल सञ्चालनमा आएपछि त्यो समृद्धिको ढोका खुलेको छ ।”

जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व पनि बुँवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ ।

तोकिएको समयभन्दा वर्षदिनअघि नै निर्माण सम्पन्न भएको यो मोटरेबल पुल आज (शनिबार) कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राई औपचारिक उद्घाटन गर्नुभएको छ । बुँवाखोला पुल निर्माणका लागि सम्झौता गरेको सात महिनापछि वि.सं. २०८१ मङ्सिर–६ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको थियो ।

नेपालमा निर्माण व्यवसायीका विरुद्ध ‘जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने’ भन्ने आलोचना सामान्य छ । तर, बुँवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्ष दिनअघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले समेत यो कामको प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया