–मिनाक्क्षी राई
खोटाङ, ५ मङ्सिर । दिक्तेलमा आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएपछि युवा समूहले सचेतनामूलक सन्देश प्रवाह गर्न सडक नाटक तयार गरेर प्रदर्शन गरेको हो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको कार्यालय अगाडि शुक्रबार प्रदर्शन गरिएको सडक नाटक हेर्न हिलसाइड स्याम्पल बोर्डिङ स्कूल र आदर्श बोर्डिङ स्कूलका विद्यार्थी, सरकारी कर्मचारी तथा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यही मङ्सिर–३ गतेदेखि सुरु गरिएको यो नाटक भोलि बिहान ७ः०० बजे हाटडाँडामा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संविधानसभा सदस्य दुर्गाजयन्ती राईले आत्महत्या न्यूनीकरणमा सम्बन्धित निकायले प्राथमिकता नदिएको आरोप लगाउनुहुँदै युवाले सुरु गरेको अभियानको प्रशंसा गर्नुभएको छ । “यस्तो अभियान, सचेतना, जिम्मेवारी जस्ता कुरा राज्यका निकायहरूले बोल्नु पर्ने हो । तर, दुःखका साथ भन्नुपर्छ, हाम्रो कुनै पनि निकायले यसप्रति ध्यान दिन सकेन”, उहाँले भन्नुभयो, “समाजमा बढ्दो मानसिक तनाव तथा निराशालाई कम गर्न सरकारले ध्यान दिन जरुरी छ । सरकारलाई खबरदारी गर्न पनि यस्ता कार्यक्रमहरू अत्यावश्यक छ ।”
नाटकका बारेमा प्रतिक्रिया दिनुहुँदै अधिवक्ता ओमप्रकाश घिमिरेले युवाको प्रयासलाई अत्यन्त प्रेरणादायी भएको बताउनुभएको छ । “कानूनी तथा सामाजिक दुवै दृष्टिले मानिसलाई आत्महत्याबाट जोगाउने मुख्य उपाय भनेकै सचेतना हो । नाटकले यही विषयलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गरेको छ”, उहाँले भन्नुभयो, “पीडा अस्थायी हुन्छ । जीवन स्थायी हुन्छ भन्ने बुझाइ नहुँदा धेरै यस्ता घटनाहरु भएका छन् । नाटकमार्फत युवाले दिएको सन्देश अत्यन्त महत्वपूर्ण छ ।”
नाटकमा जीवनमा आउने असफलता, चुनौती र निराशालाई आत्महत्याबाट होइन, सकारात्मक सोच र साथ–सहयोगबाट सामना गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको पाइएको छ । मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ यो नाटक तयार गरिएको आयोजकले जानाएको छ ।
नाटकमा ललिजन राई, भीषण कार्की, सन्तोष गिरी, सुनिल गिरी, आकृति भुजेल, सोनामहाङ राई, गुराँस आचार्य, मनसुना आचार्य, सन्जीव राई, शुसिल भट्राई, मनिष कठेत र समिक्षा कटुवालले अभिनय गरेका छन् । ब्रह्मकुमारी राजयोग उपसेवा खोटाङको आयोजनामा प्रदर्शन गरिएको ‘शून्यदेखि शिखरसम्म’ नाटक स्थानीय युवा सुजन आचार्याको निर्देशनमा निर्माण गरिएको हो ।
जिल्लाकै स्थानीय कलाकारले तयार पारेको सडक नाटक ‘शून्यदेखि शिखरसम्म’ले बिकराल बन्दै गएको आत्महत्या न्यूनीकरणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । दश स्थानीय तह रहेको खोटाङमा गत कातिक महिनामा मात्र १२ जनाले आत्महत्या गरेका छन् ।


