दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा एकताको सन्देशसहित कार्यक्रम प्रदर्शन

Halesi Khabar

खोटाङ, २ मङ्सिर । जेनजी युनाइटेड मुभमेन्टले राष्ट्र एकता र जेनजी समुदायको एकताको सन्देशसहित दिक्तेलमा शान्ति पदयात्रा गरेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म जेनजी एकताको अभियान थालेको जेनजी युनाईटेड मुभमेन्टले मंगलबार दिक्तेलमा देशभक्ति गीत, नेपाली झण्डा र विभिन्न प्लेकार्डसहित पदयात्रा गरेको हो ।

पदयात्रामा सहभागी युवाहरूले ‘जेनजी युनाइटेड फर परिवर्तन’, ‘एक भएन भने देशको घाउ निको हुने छैन’, विभाजनले जेनजीको भावना मर्छ, एकताले परिवर्तन जन्माउँछ’, ‘भ्रष्टाचारीलाई उन्मुक्ति, जेनजीलाई कैद’, ‘देश दुःखेको बेला एक हौँ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । युनाइटेड मुभमेन्टले दिक्तेलस्थित किरातचोकबाट, बेसक्याम्प हुँदै हाँटडाँडा तथा हाँटडाँडादेखि हेलिप्याडसम्म शान्ति पदयात्रा प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा सहभागी जेनजी युनाइटेड मुभमेन्टमा आवद्ध युवाले शहीद तथा घाइतेहरुका सपना पुरा गर्न जेनजीहरुको एकता आवश्यक रहेको बताएका छन् । उनीहरुले जेनजी युवालाई एकतावद्ध हुन आग्रहसमेत गरेका छन् ।

जेनजी युनाइटेड मुभमेन्टको पहिलो काम जेनजीहरुलाई एकतावद्ध गर्नु भएको बताउँदै जेनजी एकताका लागि वार्ता तथा सम्वाद भइरहेको जेनजी प्रतिनिधि तपसेन राईले बताउनुभएको छ । “हामी एक भयौँ भने मात्र आन्दोलनमा ज्यान गुमाएका शहीदहरुले मुक्ति पाउनेछन् । त्यसैले हामी एक हुन पूर्व–पश्चिम एकताको अभियान चलाउदैँ आएका छौँ”, उहाँले भन्नुभयो, “झुण्ड–झुण्डमा विभाजित जेनजीलाई पनि समेट्दै आएका छौँ । हामीले यो पदयात्रालाई एकताको अभियान भनेका छौँ ।”

पदयात्रापछि हेलिप्याडमा आयोजित सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो । स्थानीय कलाकारहरुको देशभक्ति गीतमा गायन, नृत्य तथा खोकु छिन्ताङ हत्याकाण्ड, माओवादी जनयुद्ध र जेनजी आन्दोलन समेटिएको सडक नाटक प्रस्तुत गरिएको थियो ।

दिक्तेलमा भएको यो पदयात्रा राष्ट्रिय एकताको नयाँ अध्याय लेख्ने गरि सुरु गरिएको जेनजी युनाइटेड मुभमेन्टले जनाएको छ । कार्यक्रममा दिक्तेल नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका जेनजी उमेर समूहका विद्यार्थीहरू, जनप्रतिनिधि र स्थानीय लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया