दिक्तेल बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको इकाई समिति पुनः गठन

Halesi Khabar

खोटाङ, २ मङ्सिर । जनता समाजवादी पार्टी खोटाङको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनले दिक्तेल बहुमुखी क्याम्पसमा एकाई समिति पुनः गठन गरेको छ । क्याम्पसमा मङ्गलबार भएको समाजवादी विद्यार्थी युनियनको भेलाले जीवन भुजेलको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पवित्रा राई, सचिवमा अञ्जली राई, सहसचिवमा चन्द्रकला मगर र कोषाध्यक्षमा शारदा राई चयन हुनुभएको छ । पुनः गठित समितिले क्याम्पसको शैक्षिकस्तर सुधार, विद्यार्थी अधिकार संरक्षण र क्याम्पसमा हुने कुनै पनि प्रकारका अधिकार हननविरुद्ध दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

समाजवादी विद्यार्थी युनियनले क्यामपसमा दिगोपन र वातावरणीय जागरुकतालाई प्राथमिकता दिने योजना बनाएको जनाइएको छ । जसले विद्यार्थीलाई हरियाली भविष्यतर्फ अग्रसर गराउले लक्ष्य लिएको छ ।

समाजवादी विद्यार्थी सङ्गठनले सदैव शैक्षिक समस्याको समाधान, पारदर्शिता र विद्यार्थी हितका मुद्दामा अग्रसर रहदैँ आएको जिल्ला अध्यक्ष आश्रय राईले बताउनुभएको छ । “दिक्तेल बहुमुखी क्याम्पसमा हाम्रो यस नयाँ समितिको गठन केवल पद बाँडफाँडको प्रक्रिया होइन । विद्यार्थी अधिकार, शैक्षिक गुणस्तर र सकारात्मक परिवर्तनका लागि हाम्रो संयुक्त प्रतिबद्धताको अभिव्यक्ति हो”, उहाँले भन्नुभयो, “हामी क्याम्पसमा अनुशासन, सहकार्य र संवादलाई प्राथमिकता दिँदै, सबै विद्यार्थीको आवाजलाई सम्मानपूर्वक अघि ल्याउनेछौं । आजदेखि हाम्रो जिम्मेवारी अझै बढेको छ । हामी सबै मिलेर क्याम्पसमा सकारात्मक परिवर्तन ल्याउने छौँ ।”

विद्यार्थी सङ्गठन पुनः गठन कार्यक्रममा जसपा खोटाङका जिल्ला अध्यक्ष निर्मल राई, जिल्ल सचिव एवम् विद्यार्थी युनियनका केन्द्रीय सचिव वीरेन्द्र दर्नाल लगायतको उपस्थिति थियो । दश स्थानीय तह रहेको खोटाङमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपालसमेत सक्रिय छ ।

तपाईको प्रतिक्रिया