खोटाङ, २७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुगेको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आज (बिहीबार) थप दुईवटा नयाँ अक्षयकोष स्थापना गरिएसँगै श्री मावि लफ्याङमा अक्षकोषको सङ्ख्या १५ पुगेको हो ।
निधन भएका आफन्तको स्मृतिमा रु ५० हजार राशिको स्वर्गीय दीर्घराज–चिनिमाया राई अक्षय कोष र रु ५१ हजार ५५५ राशिको स्वर्गीय भक्तकुमार राई स्मृति अक्षयकोष गरेपछि विद्यालयमा १५ वटा अक्षयकोष भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले जानकारी दिनुभएको छ । उक्त विद्यालयमा सबैभन्दा पहिलो अक्षयकोष वि. सं. २०६८ सालमा रु दुई लाख ६६ हजारको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । यही अक्षयकोषलाई ६५ औं वार्षिक उत्सवको अवसरमा नाम परिवर्तन गरी स्वर्गीय श्यामशिला–तिलबहादुर राई अक्षयकोष बनाएर आफन्तहरुले रु एक लाख ५० हजार रकम थप गर्नुभएको छ ।
यस्तै, स्वर्गीय आमाछोरा स्मृति अक्षयकोषमा आफन्तहरुले रु ३३ हजार रकम थपेर रु एक लाख एक हजार पु¥याएका छन् । विद्यालयमा सञ्चालनमा रहेका १३ वटा पुराना अक्षयकोषको ब्याजबाट १८ जना जेहेन्दार र दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले अक्षयकोष स्थापनामा सहयोग पु¥याउने अभिभावकहरूलाई कदरपत्र प्रदान गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले देशको शैक्षिक क्षेत्र पछाडि परिरहेको उल्लेख गर्दै त्यसतर्फ ध्यान नदिएसम्म युवाको विदेश पलायन रोक्न कठिन हुने बताउनुभएको छ । “अन्य देशको तुलनामा नेपाल शैक्षिक क्षेत्रमा पछि पर्न थालेको छ । हामीले शैक्षिक क्षेत्रलाई नजरअन्दाज गरेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “नेपालको शैक्षिक गुणस्तर खस्कदै जाँदा हाम्रा छोराछोरीहरु अध्ययनकै लागि विदेश पलायन हुनेक्रम बढ्दो छ । उनीहरुलाई स्वदेशमै रोक्न गुणस्तर सुधारमा ध्यान दिन जरुरी छ ।”
तीन दिनसम्म सञ्चालन हुने वार्षिक उत्सवको अवसरमा प्रावि तहको छात्रहरुको रिले दौड, छात्राहरुको बेलुन फुटाइ र शिक्षक÷शिक्षिकाकोे म्युजिकल चियर प्रतियोगिता राखिएको छ । वार्षिक उत्सवको अवसरमा नगरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गरिएको विद्यालयले जनाएको छ ।
नगरपालिकाभित्रका ११ वटा वडाले सहभागिता जनाएको भलिबल प्रतियोगितामा वडा नं. १३ नुनथलालाई हराउँदै वडा नं. ६ नेर्पाले विजयी सुरुवात गरेको छ । यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका माविस्तरीय खुला नृत्य प्रतियोेगितामा १५ वटा मावि सहभागिताका लागि सम्पर्कमा आएका छन् ।
नृत्य प्रतियोगिता यही कातिक–२९ गते हुने विद्यालयले जनाएको छ । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो ।


