श्रवण अपाङ्गता भएका व्यक्तिका लागि के छ सुविधा ?

Halesi Khabar

श्रवण अपाङ्गता भएका व्यक्तिको सूचना पहुँच र सेवा प्राप्तिमा अझै पनि चुनौती छ । दैनिक जीवनयापनका सामान्य कामदेखि सरकारी कार्यालयले दिने सेवा/सुविधामा समेत भाषा र सञ्चार अभाव हुँदा श्रवण अपाङ्गता भएका व्यक्ति समस्यामा छन् । यही सेवाको प्रभाव, आवश्यकता र आगामी योजनाबारे खोटाङ जिल्लाका दशवटै स्थानीय तहका श्रवण अपाङ्गता भएका व्यक्तिका लागि सहजीकरणमा खटिनुभएका दोभासे कर्मचारी पूजा दाहालसँग हलेसी खबर डटकमका सम्वाददाता मिनाक्क्षी राईले गर्नुभएको कुराकानीको सम्पादित अंश :

दोभासे सेवा आउनुभन्दा अगाडि श्रवण अपाङ्गता भएका व्यक्तिले कस्तो कठिनाइ झेल्दै आउनुभएको थियो ?

– पहिला त म यहाँ आएर परिचय दिँदै हिडेँ । म दोभासे सेवा दिन आएको हो भने । श्रवण अपाङ्गता भएका व्यक्तिहरुलाई यो विषय थाहा नै रहेनछ । दोभासे भाषा भनेको के हो ? साङ्केतिक भाषा भनेको के हो ? भनेर उहाँहरुलाई थाहा रहेनछ । जब अपाङ्ग सेवा सङ्घ खोटाङले अपाङ्ग दिवसको कार्यक्रम राख्यो, त्यसपछि मैले साङ्केतिक भाषाबाट आफ्नो परिचय दिएँ र त्यहाँ करुण फाउन्डेसनको एकजना मिसले प्रेजेन्टटेसन गर्दा मैले आफ्नो साइन भाषा प्रयोग गरेँ । यो दोभाषे सेवा चाहिँ श्रवण अपाङ्गताको लागि हो भनेसि उहाँहरुले थाहा पाउनुभयो र त्यसपछि जिल्ला प्रशासन कार्यालय र शिविरहरुमा देखा पर्न थाल्नुभयो अनि मसँग सम्पर्कमा रहनुभएर सेवा लिन थाल्नुभयो ।

यो सेवा लिने जति पनि व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु खोटाङ जिल्लाभरिकै हुनुहुन्थ्यो ?
– हजुर जिल्लाभरिकै हुनुहुन्थ्यो । सबै पालिकाबाट आउनुभाको थियो । सेवा लिनका लागि मसँग सम्पर्क गरेर आउनुभाथ्यो । त्यहिअनुसार सेवा लिनुभयो ।

सेवाग्राहीले सबैभन्दा बढी के–कस्ता समस्या लिएर आउनुभएको थियो ?
– उहाँहरुले सबैभन्दा बढी समस्या चै भाषाको लिएर आउनुहुन्थ्यो । परिवारका सदस्यसँग कामका लागि आउँदा परिवारका सदस्यले गरिदिनुहुन्छ । तर, उहाँहरु कामका लागि एक्लै आउने सेवाग्राहीले चाहिँ भाषा नबुझेर मलाई सम्पर्क गर्नुहुन्थ्यो ।

अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउन्डेसनले यसमा कस्तो भूमिका खेलिरहेको छ ?
– अपाङ्ग सेवा सङ्घ खोटाङ र करुणा फाउन्डेसनले मलाई सहयोग गर्न खोज्नुभएको हो धेरै । तर, उहाँहरुले भूमिका निभाउनका लागि समय नपाउनु भएको हो ।

स्थानीय तहहरुले कसरी सहकार्य गरिरहेका छन् ?
– स्थानीय तहमा गएर धेरै समन्वय गर्न खोजे । तर, यस विषयमा अब जिल्लामा चाहिँ दोभासे कर्मचारी आएको छ । आफ्नो ठाउँको समस्याहरु राख्नुस् भनेर मैले चाहिँ स्थानीय तहमा गएर आफ्नो प्रस्ताव राखे अनि आउने आर्थिक वर्षमा चाहिँ केहि बजेट छुट्याउ कार्यक्रम गरौँ साङ्केतिक तालिम दिउँ, उहाँहरुलाई शिक्षित बनाउँ, उहाँहरुको समस्याहरु बुझौँ भनेर दशवटै पलिकामा कुरा गरे । तर, पालिकाले बजेट नभएको भनेर भन्नुभयो । अलिक यस विषयमा ध्यान नदिएको जस्तो लाग्यो ।

खोटाङमा यो सेवा किन महत्वपूर्ण छ ?
– खोटाङमा मात्र होइन । यो सेवा नेपालभरि नै समस्या छ । बहिरा भएका व्यक्तिहरुलाई अब आफ्नो सञ्चारको कमिले आफ्नो भावनाहरु साटासाट गर्न, आफ्नो कामहरु खुलस्त रुपमा गर्न सकिरहेका छैनन् । त्यसैका लागि चाहिँ सञ्चार सहज होस् भनेर हामी कर्मचारीलाई खटाइएको हो । त्यसैले गर्दा यो अति आवश्यक छ । एक त उहाँहरुलाई साङ्केतिक भाषाको तालिम आवश्यक छ ।

आगामी योजनाहरु के–के छन् ?
– आगामी योजना त केही छैन । तर, स्थानीय तहले चाहिँ यो विषय बुझिदिए हुन्थ्यो । ध्यान दिए हुन्थ्यो । जुन मैले कामको प्रपोजल लिएर स्थानीय तहहरुमा गएँ । सकेसम्म स्थानीय तहका जनप्रतिनिधिहरुलाई बुझाउन कोसिश गरेँ । यो विषयलाई केही बजेट छुट्याएर कार्यक्रम बनाएको खण्डमा धेरै राम्रो हुन्थ्यो ।

तपाईको खास उद्देश्य के हो ?
– मेरो उद्देश्य चाहिँ सबै बहिरा तथा सुस्त श्रवण शक्ति भएका व्यक्तिहरुलाई सहज रुपमा सूचना तथा सेवा प्राप्त गर्न सहयोग पुर्‍ याउनु हो ।

तपाईको प्रतिक्रिया