अहिले सिङ्गो देश आतङ्कको अवस्थामा छ : केपी शर्मा ओली

Halesi Khabar

कार्तिक २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको तोस्रो पूर्णबैठकलाई सम्बोधन गर्दै ओलीले अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको बताउनुभएको हो । यो परिस्थितिलाई लामो समय जान दिनु नहुने बताउँदै उहाँले त्यसको जिम्मेवारी युवाको काँधमा भएको स्पष्ट पार्नुभयो । ओलीले भदौ २३ र २४ को घटना आकस्मिक घटना नभएको बताउनुभयो । व्यक्तिका घरमा चिन्ह लगाई लगाई आक्रमण गरिएकोले त्यो पूर्वनिर्धारित हिंसाको योजना भएको उहाँको धारणा छ ।

अहिले सिङ्गो देश आतङ्कको अवस्थामा रहेको ओलीले बताउनुभएको छ । सबैलाई अनेक खालका धम्की दिने काम गरिएको ओलीले बताउनुभयो । ‘तिनलाई मन नपर्ने कुरा कुनै लेख, टिप्पणी, समाचार दियो भने धम्की आउँछ’, उहाँले भन्नुभयो । अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतङ्कित भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताउनुभयो । त्यो जिम्मेवारी नेकपा एमालेका युवाले पुरा गर्नुपर्ने उहाँको भनाइ छ । ‘ म सिङ्गो देशले सुन्ने गरी भन्न चाहन्छु–अब कोही पनि देशमा नडराउनुस्, यो देशमा नेकपा एमाले छ, देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन, कसैका पसलहरू, डिपार्टमेन्ट स्टोरहरू लुट्न दिइने छैन’, उहाँले भन्नुभयो ।

अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारबाही नगरिएको ओलीले बताउनुभयो । अपराधामा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उहाँको भनाइ छ ।

युवा शान्त हुनु पर्ने बताउँदै ओलीले तर अन्यायका विरुद्ध भने युवा उठ्नु पर्ने बताउनुभएको छ । अहिले लोकतन्त्र र संविधानको रक्षका निमित्त युवा उठ्नु पर्ने बेला आएको ओलीको भनाइ छ ।

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको बताए । ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, यस्तो तमासा भएको छ’, भन्नुभयो ।

यस्ता कार्यका विरुद्ध सडकमा उत्रिनु पर्ने ओलीले बताउनुभयो । एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जोन उनले स्पष्ट पार्नुभयो । एमालेले अब प्रशासनसँग अनुमति लिएर आन्दोलन नगर्ने उहाँले चेतावनी दिनुभयो । ‘तपाईँहरूको विरोध गर्न अब तपाईँहरूसँग अनुमति माग्न आउँदैनौँ,’ ओलीले भन्नुभयो ।

आगो लगाउने र लुटपाट गर्नेलाई छाड्ने प्रशासनले एमालेको शान्तिपूर्ण प्रदर्शनलाई रोक लगाउने र स्थानहद तोक्ने काम गरेको भन्दै उनले आपत्ति जनाउनुभएको छ । शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने ओलीले दाबी गर्नुभएको छ । लोकतन्त्र फर्काइ छाड्ने प्रतिवद्धताका साथ एमाले सडकमा उत्रिने ओलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया