खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते हिरासतबाट भागेका मगरलाई गाउँ आएर घरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला इलाका प्रहरी कार्यालयको हिरासतबाटै भागेका मगरलाई खोटाङ घर आएर लुकीछिपी बसेको अवस्थामा कातिक–२० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभएको छ । पक्राउ परेको भोलिपल्ट अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका मगरलाई आज (शनिबार) बिहान बनेपा इलाका प्रहरी कार्यालय काभ्रेमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।
जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका मगर गाउँ आएर घरमै लुकिछिपी बसिरहेको स्थानीयले दिएको जानकारीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई पुनः हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभएको छ ।


