अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

Halesi Khabar

खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ ।

केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुटिरहेका हुन् ।

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरु बाँदर लगायतका वन्यजन्तुहरुबाट समेत धान जोगाउने हतारोमा छन् । देशभर परेको वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलब ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धान खोती गरिन्छ । यसमा करिब आठ हजार ९९५ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं. ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिनुभएको छ । “अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन् । अविरल वर्षाले धान, कोदो, फापर लगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ । यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धान खेती गरिन्छ । यसमा ३०८ दशमलव चार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा पनि धान खेतीमा व्यापक क्षति पु¥याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभएको छ । उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धान खेती नष्ट भएको छ ।

सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलब ९६ हेक्टरमा धान खेती गरिन्छ । यसमा करिब ६१९ दशमलव २७ मेट्रिकटन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

बराहापोखरी गाउँपालिकामा पनि धान खेतीमा क्षति पुगेको छ । यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पु¥याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभएको छ । यो गाउँपालिकामा ६५७ हेक्टरमा धान खेती गरिन्छ । यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिकटन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

खोटेहाङ गाउँपालिकामा पनि धान खेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ ।

गाउँपालिकाहरुमध्ये सबैभन्दा ठूलो (नौँ वडा रहेको) यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धान खेती गरिन्छ । यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धान खेतीमा क्षति पु¥याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साकेला, रावाबँेसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पु¥याएको छ । साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेटिकटन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिकटन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिकटन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिकटन धान उत्पादन हुँदै आएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ । यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो ।

तपाईको प्रतिक्रिया