कार्तिक १९ गते । नेपाली कांग्रेसका झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् । केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको छ ।
जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ । इमेलमार्फत विवरण पठाएका जिल्लामा ४५ हजारले नवीकरणमा रुचि देखाएका छैनन् ।
महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएकेको छ ।’
२७ जिल्लामा (केही वडाबाहेक) तहगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अर्थात् ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ,’ महामन्त्री थापाले प्रतिवेदनमा लेख्नुभएको छ , ‘सिस्टममा इन्ट्री गर्न बाँकी छ ।’
१६ वटा जिल्लामा (केही वडाबाहेक) वडाबाट क्रियाशील सदस्यता नवीकरण भएर तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको महामन्त्री थापाको भनाइ छ ।
महामन्त्री थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काममा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाका अनुसार अहिले ती जिल्लाहरूमा वडाबाट विवरण संकलन भइरहेको छ ।
शीर्ष नेताहरूकै जिल्लामा समस्या
महामन्त्री थापाको प्रतिवेदनअनुसार सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता नवीकरण हुन सकेको छैन । यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा पनि नवीकरणमा समस्या देखिएको छ ।
महामन्त्री थापाले प्रतिवेदनमा डडेल्धुरा र सुर्खेत–२ मा क्रियाशील सदस्यता नवीकरण हुन नसकेको कारण भने खुलाएका छैनन् । ‘केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ,’ उहाले प्रतिवेदनमा लेख्नुभएको छ ।
प्रतिवेदनअनुसार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र निवर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर–३ मा पनि नवीकरणमा समस्या देखिएको छ ।
निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जिल्ला कैलालीका १, २ र ४, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको जिल्ला रुपन्देही–४, सहमहामन्त्री उमाकान्त चौधरीको जिल्ला बारा–१ र २, पूर्वउपसभापति विमलेन्द्र निधिको जिल्ला धनुषा–३ र ४ मा पनि समस्या रहेको महामन्त्रीको प्रतिवेदनले देखाउँछ ।
प्रतिवेदनअनुसार सहमहामन्त्री किशोरसिंह राठोरको निर्वाचन क्षेत्र बाँके–३, पूर्वमन्त्री मोहन बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकसँगै मुस्ताङ, सप्तरी र सिरहा–३ मा पनि क्रियाशील सदस्यता नवीकरणमा समस्या छ ।
महामन्त्री थापाले सभापति रिक्त रहेका कारण खोटाङ र सर्लाहीमा पनि सदस्यता नवीकरणमा समस्या उत्पन्न भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
देशभरका ६ हजार ७४३ वडामध्ये २६८ वडामा विभिन्न कारणले नवीकरण बाँकी रहेको महामन्त्री थापाको भनाइ छ । उहाले बाँकी रहेका वडामध्ये २२७ वडाहरू नवीकरणको प्रक्रियामा रहेका पनि केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनुभएको छ ।
बारा १ र २ तथा रूपन्देही–४ को मर्चवारी गाउँपालिका–४ सहित ३ वटै निर्वाचन क्षेत्र ४१ वटा वडामा नवीकरणको काम सुरु हुन नसकेको महामन्त्री थापको भनाइ छ ।
महाधिवेशन समयमा हुँदैन भन्ने भाष्यका कारण नवीकरण विवरण बुझाउन ढिलाइ भए पनि महाधिवेशनको कार्यतालिका टुङ्गिएको एक सातामै नवीकरणको काम सम्पन्न हुने उहाको दाबी छ ।
महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यताका लागि दुई लाख १७ हजार ९०१ थान नयाँ फारमहरू २०८० मै जिल्लाहरूमा पठाइसकेको पनि थापाले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
नयाँ सदस्यता वितरण खुला र सहज बनाउने, नेपाली कांग्रेसको क्रियाशील सदस्य बन्न चाहने मापदण्ड पुगेका नेपाली नागरिकलाई सहज ढङ्गले क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था गरौँ,’ थापाको प्रस्ताव छ ।
नयाँ क्रियाशील सदस्यता वितरणका लागि देशभरका वडाबाट फारम भर्ने र प्रतिनिधिसभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी कात्तिक २१ देखि मंसिर १० सम्म समय प्रदान गर्न सकिने महामन्त्रीको भनाइ छ ।
यसका लागि सबै वडा र क्षेत्रमा छुट्टै आईडी पासवर्ड उपलब्ध गराउने गरी सिस्टम तयारी अवस्थामा छ,’ उहाले प्रतिवेदनमा लेख्नुभएको छ , ‘यसले जेनजीलगायत नयाँ पुस्ताका साथीहरूलाई सदस्यता प्रदान गर्न सहज बाटो खुल्छ ।’
क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रियामा पहिलेको भन्दा अनुकूल अवस्थामा पार्टी रहेको भन्दै उहाले महाधिवशेनको कार्यतालिका टुंग्याएर एकबद्ध भई अधिवेशन प्रक्रियामा होमिएको अवस्थामा सदस्यताको काम दुई हप्तामा गर्न सकिने दाबी प्रतिवेदनमा गर्नुभएको छ ।
परम्परा तोड्दा पनि समस्य
कांग्रेसले यसअघि महाधिवेशनको वर्ष कार्यतालिका तोकिएपछि मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणको अभ्यास गर्दै आएको थियो । तर १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको २०७८ चैतमा सम्पन्न बैठकले सदस्यता वितरण र नवीकरण विधानबमोजिम निरन्तर गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार दुई वर्ष अगाडि (२०८० सालमा) नै सदस्यता नवीकरणका लागि ८ लाख ७० हजार ८८४ सदस्यता जिल्लाहरूमा पठाएको थियो ।
पटकपटक परिपत्र गर्दा पनि सदस्यता नवीकरण नभएपछि २०८१ माघमा कांग्रेसले नवीकरण कार्यतालिका नै बनाएर जिल्ला पठाएको थियो । कार्यतालिका अनुसार २०८१ चैत्रसम्म क्रियाशील सदस्यता नवीकरण सम्पन्न भइसक्नुपर्ने थियो । कार्यकर्ताहरूले नवीकरणमा चासो देखाएनन् । क्रियाशील सदस्यता नवीकरणको काम अपेक्षाअनुसार नभएपछि कांग्रेसले पटक–पटक मातहतका तहलाई परिपत्र गरेको थियो ।
महामन्त्री थापाले यसबीचमा आफ्नो संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ६ पटक ताकेता गरेको र पछिल्लो पटक बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तिम पटक २०८२ असोज मसान्तसम्म नवीकरणका लागि समय थप्ने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।


