कार्तिक १८ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
डा. भट्टराईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनले देशमा युवा नेतृत्व खोजेकोले बेलैमा मतदाता सूचीमा नाम दर्ता गर्नु पहिलो कदम हुने उल्लेख गर्नुभएको छ ।
उहाँले देश विदेशमा रहेको सबैलाई नियमअनुसार समयमै नाम दर्ता गर्न आग्रह गर्दै राजनीतिमा उही पुरानै चक्र दोहोरिने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै १६ वर्ष गर्नु उपयुक्त हुने सुझाव समेत दिनुभएको छ ।
यस्तै, निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।
डा. भट्टराईले पुरानै ढर्राको निर्वाचन कानूनबाट अघि बढ्ने हो भने पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको बिहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुने बताउनुभएको छ ।


