कार्तिक १७ गते, । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यतिबेला मुलुकको स्थिति निक्कै जटिल भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३, २४ गतको घटनाले देशको अवस्था निक्कै जटिल बनेको बताउनुभएको हो ।
‘यतिबेला राष्ट्रिय राजनीति अत्यन्त अस्थिर, असामान्य र तरल अवस्थामा रहेको छ, खास गरी भदौ २३, २४ गतेको घटनाले नेपाल राष्ट्रको जीवनमा असाधारण क्षति पु¥याएको छ, नेपाल राष्ट्रको मनोविज्ञानलाई नै त्यसले नकारात्मक असर पार्ने खालको काम भएको छ’, उहाँले भन्नुभयो ।
नेपालका प्रमुख राजनीतिक दलहरू आन्दोलनकारीको माग समेत सम्बोधन गर्ने गरी अत्यन्त जिम्मेवारीका साथ मुलुकलाई सामान्य अवस्थामा फर्काउन संविधान र प्रतिनिधि सभाभित्रबाट नै समस्या समाधान गर्न सकिन्छ भन्नेमा रहेका भए पनि अवस्था फरक बनेको उहाँको भनाइ छ । प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक व्यवस्था विपरित प्रतिनिधि समा विगठन गर्ने काम गरेको पोखरेलको भनाइ छ ।
जेनजीको नाममा पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउनको लागि युवाहरूलाई नियोजित मनोविज्ञान तयार गरी आफ्नो स्वार्थका लागि प्रयोग गर्ने काम गरेको महासचिव पोखरेलले बताउनुभएको छ । जसको परिणाम देश असामान्य अवस्थामा प्रवेश गरेको उहाँको भनाइ छ ।
जेनजीका माग असामान्य र नाजायज नभएका बताउँदै त्यो सरकारले पुरा गर्न सक्ने माग भएका पोखरेलको धारणा छ । तर उनीहरूका माग सरकार समक्ष नै नपुगेका र आन्दोलन कसले परिचालन गरेको छ भन्ने कुरा समेत सरकारले थाहा पाउन नसकेको पोखरेलले टिप्पणी गर्नुभएको छ । माग पूरा गर्ने भन्दा पनि परिस्थितिलाई आफ्नो अनुकूल प्रयोग गर्न त्यो काम गरिएको थियो भन्ने कुरा पछिल्लो तथ्यले पुष्टि गरिसकेको छ’, उहाँले भन्नुभएको छ ।
नेपाली युवामा रहेको मोबाइलमा भएको आशक्ति र लत बुझ्न नसक्दा अहिलेको स्थिति आएको उहाँले स्वीकार गर्नुभएको छ । यद्यपि सरकारले सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकारले गरेको प्रयास सही भएको उनले दाबी गर्नुभएको छ । ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने लत भएका युवालाई गलत तत्त्वले भड्काउन सफल भए’, पोखरेलले भन्नुभयो ।
सरकार युवा र प्रविधिमैत्री भए पनि त्यसलाई युवाले बुझ्न नसकेका पोखरेलको भनाइ छ । सूचना प्रविधिलाई जोडेर युवालाई गलत बाटोमा लैजाने कुरा निक्कै घातक भएको उहाँले बताउनुभयो । सूचना र प्रविधि मार्फत युवालाई लागुऔषधको दुव्र्यसन समेत पु¥याउने गरिएको बताउँदै यसबाट युवालाई बाहिर निकाल्न सक्नु पर्ने पोखरेलको धारणा छ ।
जेनजी युवाले राज्य ध्वस्त बनाउँछन् भन्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ । ‘जसले त्यो काम गरे उनीहरू राष्ट्रका अपराधी हुन् भन्ने बुझ्नु पर्दछ, तिनीहरूको पहिचान गरी कारबाही गर्नुपर्दछ ।
सरकारले जेनजी आन्दोलन र आन्दोलनको नाममा भएको अपराधलाई एकै ठाउँमा राखेर हेरेको भन्दै उहाँले आलोचन गर्नुभएको छ । ‘अहिलेको सरकार अपराध र आन्दोलनलाई छुट्याउने कुरामा पूर्णतः असफल छ, आन्दोलनलाई सम्बोधन गर्न सकिन्छ तर अपराधलाई दण्डित गर्नुपर्दछ, आन्दोलन र अपराधलाई छासमिस गर्नुपर्ने कुरा उपयुक्त होइन, त्यसैले यसको निष्पक्ष छानबिन हुनु पर्दछ’ पोखरेलले बताउनुभयो ।
अहिले गठन भएको छानबिन आयोगको अध्यक्ष आफै २३ र २४ को घटनाको मतियार भएकाले उनीबाट निष्पक्ष प्रतिवेदन नआउने उहाँले बताउनुभयो । अहिलेका अध्यक्षले राजीनामा दिनु पर्नेमा नदिएपछि सरकारले नै उहाँलाई हटाउनु पर्ने पोखरेलको धारणा छ । यस पटकको आन्दोलनको नाममा सबैभन्दा पहिलो निशाना नेपाल प्रहरीलाई बनाएको पोखरेलले बताउनुभयो ।


