–मिनाक्क्षी राई
खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आइतबार आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् ।
नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्वर्गीय आमा पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा रू दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभएको छ । नगरप्रमुख भट्टराईका स्वर्गीय आमा पदमकुमारीको गत वर्ष (वि.सं.२०८१ कातिक–१६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो ।
आफ्नो गाउँको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई केही सहयोग पु¥याउने उद्देश्यसहित परिवारको तर्फबाट अक्षयकोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ । “समाजमा देखिने धार्मिक संस्कार र संस्कृतिमा अनावश्यक खर्च गर्ने चलन बसेको छ । भड्किलो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “आफ्नो संस्कार संस्कृति पनि जोगाउनुपर्छ । संस्कार संस्कृति जगेर्ना गर्दै शैक्षिक–सामाजिक रूपले अगाडि बढ्न सकियोस् भन्ने चाहनाले अक्षयकोष स्थापना गरिएको हो ।”
अक्षयकोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले वि.सं. २०१६ सालमा स्थापना भएको उक्त विद्यालयलाई स्थापना कालदेखि नै निरन्तर आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको स्मरण गराउनुभएको छ । विद्यालयलाई आवश्यक पर्ने जग्गाको केही भाग न्यून मूल्यमा र केही पूर्णरूपमा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई शिक्षाको ज्योति फैलाउन आफ्नो परिवारले बिगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।
अक्षयकोष स्थापना कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्नुभएको छ । “सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोषहरू आवश्यक छ । यसमा नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्वप्रति सबैले प्रशंसा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको सुधार नभइ सामाजिक रुपान्तरण सम्भव छैन । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सबै एकजुट हुन आवश्यक छ ।”
अक्षयकोषमा रहेको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राई, प्रधानाध्यापक पेशल आचार्य तथा अभिभावक सङ्घका अध्यक्ष जोशीचन्द्र राईलाई चेकमार्फत हस्तान्तरण गरिएको छ । नगरप्रमुख भट्टराई परिवारले उपलब्ध गराएको रकम केहिदिनपछि नगरपालिकाको कार्यविधि तथा बैङ्कको नियम अनुसार सिटिजन बैङ्क दिक्तेल शाखामा खाता खोलेर जम्मा गरिने जनाइएको छ ।
नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यद्धारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम विद्यालय प्रशासनसँगको सहकार्य र अक्षयकोष सञ्चालन समितिको निर्णयअनुसार वार्षिकरुपमा विद्यार्थीलाई पुरस्कार वितरण, शैक्षिक गतिविधि तथा आवश्यक सहयोगमा खर्च गरिने विद्यालयले जनाएको छ । नगरप्रमुख भट्टराईको स्वर्गीय आमा पदमकुमारीको वार्षिक पूण्यतिथिको अवसर पारेर स्थापना गरिएको अक्षयकोष घोषणा कार्यक्रममा नगरउपप्रमुख विशन राई, नगरपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।


