–मिनाक्क्षी राई
खोटाङ, १४ कातिक । जिल्लाको अग्रणी शैक्षिक संस्था दिक्तेल बहुमुखी क्याम्पसको सातौँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पानसमा दीप प्रज्वलन गरेर र ब्यानर वाचन गर्दै औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको सभापतित्वमा सम्पन्न सभामा क्याम्पसको समग्र शैक्षिक उन्नति, भौतिक पूर्वाधार विस्तार तथा आगामी योजनाबारे छलफल गरिएको थियो । सभामा क्याम्पस प्रमुख कृष्णबहादुर राईले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा २०८२÷८३ को वार्षिक नीतिगत तथा कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले हासिल गरेका उपलब्धिहरू, देखिएका चुनौतीहरू र आगामी रणनीतिहरूको बारेमा प्रकाश पार्नुभयो ।
त्यस्तै सहायक क्याम्पस प्रमुख तथा लेखा समितिका सदस्य हर्कवीर राईले क्याम्पसको वार्षिक आर्थिक प्रतिवेदन पेश गर्दै पारदर्शिता, सुशासन तथा स्रोत व्यवस्थापनमा क्याम्पस निरन्तर सचेत रहेको बताउनुभयो । वि.सं. २०३७ सालमा स्थापना भएको जिल्लाकै पुरानो दिक्तेल बहुमुखी क्याम्पसले झन्डै आठ वर्षको प्रयासपछि क्युएए प्रमाणपत्र हासिल गर्न सफल भएको छ ।
त्रिभुवन विश्वविद्यालय अनुदान आयोग (युजिसि)ले वि.सं. २०८० पुस–१९ गते क्युएए प्रदान गर्ने निर्णय गरेको थियो । त्यसपछि माघ–१२ गते काठमाडौँमा आयोजित विशेष समारोहमा क्याम्पसलाई उक्त प्रमाणपत्र औपचारिक रूपमा प्रदान गरिएको थियो ।


