कात्तिक १३ गते । लामो समयदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रतीक्षामा रहेका सेवाग्राहीले अब कागजको ‘चिर्कटो’ बोकिराख्नु पर्ने झन्झटबाट राहत पाउने भएका छन् । सुरक्षण मुद्रण केन्द्रले ‘क्युआर कोड’ समावेश गरिएको स्मार्ट लाइसेन्स छपाइको तयारी गरेसँगै सेवाग्राहीले राहत पाउने भएका हुन् ।
यातायात व्यवस्था विभागसँगको सहकार्यमा तत्काल १२ लाख लाइसेन्स छापिने कोषको भनाइ छ । योजनाले वैदेशिक रोजगारीमा जाने तथा अत्यावश्यक परेकासहित हाललाई १२ लाख सेवाग्राहीलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।
यसअघि यातायात व्यवस्था विभागले छाप्दै आएको लाइसेन्समा चिप जडान गरिएको थियो । अब भने सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा चिपको सट्टा क्युआर कोड प्रयोग हुने छ । केन्द्रका उपसचिव गोपाल राज तिमिल्सिनाले नयाँ लाइसेन्सको स्वरूप परिवर्तन हुने र त्यसको छपाइका लागि केन्द्र पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।
तिमिल्सिनाका अनुसार, नयाँ छाप्न लागिएको लाइसेन्स पनि स्मार्ट कार्ड नै हुनेछ, तर पहिलेको जस्तो चिप जडान हुनेछैन । ‘कार्ड स्मार्ट नै हो, तर त्यसमा चिप हुँदैन, क्युआर कोड हुन्छ,’ तिमिल्सिनाले भन्नुभयो ।
यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार केन्द्रले तत्कालका लागि तयार हुन नसकेका २५ लाख लाइसेन्समध्ये १२ लाख छाप्ने गरी तयारी गरेको छ । केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।
‘केन्द्रसँग अहिलेलाई १२ लाख कार्ड छाप्ने गरी समझदारी भएको छ । अझै केही प्राविधिक कुराहरू मिलाउन बाँकी छ । छपाइको काम छिट्टै, सम्भवतः एक हप्ताभित्रै सुरु हुन्छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाबिच बुधबार उक्त सङ्ख्यामा लाइसेन्स छाप्नेबारे समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
यससँगै केन्द्रले छपाइका लागि आवश्यक उपकरण तयारी अवस्थामा रहेको बताएको छ । विभागबाट आवश्यक डाटा प्राप्त भएलगत्तै छपाइको काम हुने उपसचिव तिमिल्सिनाले बताउनुभएको छ ।
तिमिल्सिनाका अनुसार, छपाइको मेसिन विगत तीन–चार वर्षदेखि नै बनेपामा जडान गरेर तयारी अवस्थामा राखिएको छ ।
‘सबैभन्दा पहिला हामीलाई डाटा चाहियो। विभागले अहिलेसम्म डाटा दिन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘कहिले डाटा आउँछ, त्यसपछि मात्र छपाइ सुरु हुन्छ ।’
लाइसेन्स नपाएर सास्ती भोगिरहेकालाई राहत
लामो समयदेखि लाइसेन्स नपाएर सास्ती भोगिरहेका सेवाग्राहीलाई यसले राहत दिने अपेक्षा गरिएको छ । तिवारीका अनुसार तत्काल आवश्यक परेका र लामो समयदेखि प्रतीक्षा सूचीमा रहेका दुवैलाई प्राथमिकतामा राखेर लाइसेन्स वितरण गरिनेछ ।
छपाइको सुरुवातमा सानो सङ्ख्याबाट काम थालिने र क्रमशः बढाउँदै लगिने योजना विभागको छ । ‘सबै कुरा छलफलकै क्रममा छ, भोलि–पर्सिसम्ममा कहिलेबाट र कसरी छाप्ने भन्नेबारे टुङ्गो लाग्नेछ,’ तिवारीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा जानेलगायत तत्काल लाइसेन्स चाहिनेको हकमा केन्द्रले दैनिक ५ सय लाइसेन्स छापेर तुरुन्त दिने सहमति भएको छ । त्यसपछि भने विभागले आफ्नै प्रणाली विकास गरेर लाइसेन्स वितरण गर्ने जनाएको छ ।
यसअघि विभागले अत्यावश्यक सवारी लाइसेन्स छापेर वितरण गर्दै आएको थियो । तर जेनजी आन्दोलनका क्रममा लाइसेन्स छाप्ने मेशिन ध्वस्त बनेपछि लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द गरिएको थियो । जसका कारण वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अत्यावश्यक सवारी लाइसेन्स आवश्यक सेवाग्राही मर्कामा परेका छन् ।
गत भदौ २३÷२४ को जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग तोडफोड तथा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो । सो क्रममा सवारी लाइसेन्स छपाइ मेशिनपनि पूर्ण रूपमा क्षति पुगेको थियो ।
केन्द्रले एउटा लाइसेन्स छाप्दा लगभग १५५.१५ रुपैयाँ लागत अनुमान गरेको छ । यो लागत बोर्डले निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले लाइसेन्स छपाइको बजेट उपलब्ध गराउने समझदारी भएको छ । ‘हाम्रो आफ्नो कुनै बजेट हुँदैन, जसको काम गर्ने हो, उहाँहरूकै बजेटले गरिदिने हो,’ तिमिल्सिनाले भन्नुभयो ।


