१३ कार्तिक, । नेकपा एमाले कोशी प्रदेशले संविधानको रक्षा र संसद पुनःस्थापना मागसहित प्रदेशस्तरीय संघर्षको घोषणा गरेको छ ।
प्रदेश इन्चार्ज शेरधन राईले विराटनगरमा आयोजित कार्यक्रममा जिल्लास्तरमा छलफल शुरू गरी सवा लाख कार्यकर्ता परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपाल मोरङ शाखाले आयोजना गरेको संवाद कार्यक्रममा राईले भन्नुभयो, ‘पहिलो चरणमा सबै जिल्लामा छलफल र कार्यक्रम तयार गरी आन्दोलनको आँधीबेहरी ल्याउने छौँ । यसमा प्रदेशभरबाट सवा लाख कार्यकर्ता उतार्ने छौं ।’
२५ गतेसम्म १४ वटै जिल्लामा भेला सकेर जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा प्रदर्शन गर्ने राईले बताउनुभयो । सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै उहाँले यो सरकारले चुनाव गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । नेकपा एमालेले संसद पुनस्र्थापनाको माग राखेर अघि बढेकाले चुनावको विषयमा नसोचेको उहाँको भनाइ छ ।
सर्वस्वीकार्य छानबिन आयोग गठन गरेर जेन–जी आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोडमा संलग्नलाई कारबाही गर्नुपर्ने उहाँको तर्क छ । गौरीबहादुर कार्की नेतृत्वको छानबिन समिति पूर्वाग्रही र विश्वासिलो नभएको भन्दै उहाँले यो समितिलाई मानेर अगाडि बढ्न नसकिने बताउनुभएको छ ।
राईले भन्नुभयो ‘यसले अगाडि नै धारणा बनाइसकेको छ यस्तो समितिबाट कुनै काम हुँदैन ।’
२०४६ यता लाभको पदमा बसेका नेताका सम्पत्ति छानबिन गर्नुपर्नेमा पार्टी तयार रहेको भन्दै राईले यसका लागि सबै तयार हुनुपर्ने बताउनुभयो । ‘यस्तो छानबिन मबाटै होस्’, उहाँले भन्नुभयो ।
एमालेमा नयाँ नेतृत्व महाधिवेशनले टुंगो लगाउने बताउँदै उहाँले भन्नुभयो, ‘सडकबाट माग गरेर नेतृत्व परिवर्तन हुदैन । यसको विधि प्रक्रिया हुन्छ । महाधिवेशनबाट नै नेतृत्वको छिनोफानो हुन्छ र पार्टी पुनर्गठनका छलफल हुन्छन् अहिले नेतृत्व हटाउने कुरा सान्दर्भिक छैन ।’


