खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको आज (सोमबार) सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो ।
जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा चित्त बुझाएको छ । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु दश÷दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक गरिएको आयोजक वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीमा बास्पानी, उत्कृष्ट खेलाडीमा रतन्छाका बालकेसर राई, सर्वाधिक गोलकर्तामा साकेला फुटबल क्लबका अल्बर्ट राई, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकास राई, उत्कृष्ट डिफेन्डरमा सोल्माकै सनम राई, उत्कृष्ट गोलरक्षकमा रतन्छाका रितेस राई र उत्कृष्ट प्रशिक्षकमा रतन्छाकै एञ्जल राई घोषित हुनुभएको निर्णायक मण्डलले जनाएको छ । प्रतियोगिता अवधिभरका अनुशासित टोली बास्पानीलाई नगद तीन हजार तथा अरुलाई नगद रु दुई÷दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सुरेशकुमार राई, जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’, वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किराती लगायतले संयुक्तरुपमा नगदसहितको पुरस्कार वितरण गर्नुभएको छ । गत असोज–३० गतेबाट सुरु भएको फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको थियो ।
तत्कालीन नेकपा माओवादीको दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका शहीदहरु (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शहीद इन्दिराको वि.सं. २०५९ असार–३१ गते खोटाङको टुवाखोलामा पति माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित तथा राधाको वि.सं. २०६३ जेठ–१ गते सर्लाहीमा राज्यतर्फबाट अपहरणगरी यातना दिएर हत्या गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ ।
वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरुले स्वतःस्फूर्तरुपमा पुरस्कार राशी तथा व्यवस्थापनका लागि आवश्यक खर्च उपलब्ध गराएको स्थानीयवासी एवम् माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभएको छ । वाईसिएल नेपाल वडा कार्यसमितिको आयोजनामा जिल्लामै पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरुसमेत उत्साहित भएका छन् ।


