खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
सेमिफाइनल प्रवेश गर्ने चार टोलीबीच भोलि (कातिक–३ गते सोमबार) बिहान ७ः३० बजेदेखि सेमिफाइनलका दुई खेल तथा दिउँसो प्रथम उपाधिका फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन गत असोज–३० गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको थियो ।
दोर्पाचिउरीडाँडास्थित स्थानीय खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु दश÷दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गरिएको आयोजक वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीलाई नगद रु तीन हजार, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगद रु दुई÷दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
तत्कालीन नेकपा माओवादीको दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका शहीदहरु (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शहीद इन्दिराको वि.सं. २०५९ असार–३१ गते खोटाङको टुवाखोलामा पति माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित तथा राधाको वि.सं. २०६३ जेठ–१ गते सर्लाहीमा राज्यतर्फबाट अपहरणगरी यातना दिएर हत्या गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ ।
वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरुले स्वतःस्फूर्तरुपमा पुरस्कार राशी तथा व्यवस्थापनका लागि आवश्यक खर्च उपलब्ध गराएको स्थानीयवासी एवम् माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभएको छ । वाईसिएल नेपाल वडा कार्यसमितिको आयोजनामा जिल्लामै पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरुसमेत उत्साहित भएका छन् ।


