खोटाङ, १ कातिक । हर्क साम्पाङ नेतृत्वको श्रमशक्ति पार्टीका समर्थकले शनिबार दिक्तेल बजार सरसफाइ गरेका छन् । ‘विचार र औजार, चेतना र पसिनाको क्रान्ति, म हुँ श्रमदाता’ लेखिएको टि–सर्ट लगाएका समर्थकले दिक्तेलस्थित ट्राफिक प्रहरी कार्यालयदेखि बेसक्याम्प हुँदै हाटडाँडासम्म सरसफाइ गरेका हुन् ।
सरसफाइ अभियानका क्रममा सङ्कलित फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्दै आएको लफ्याङस्थित ल्यान्डफिल साइटमा लगेर व्यवस्थापन गरिएको जनाइएको छ । फोहर सङ्कलनका लागि डस्टबिनहरू राखिएको र बजारका कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको छ ।
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानलाई नमूना नगरका रूपमा प्रस्तुत गर्दै श्रमबाट पनि नगर, गाउँ, देश परिवर्तन र विकास सम्भव छ भन्ने सन्देश दिनुभएको छ । नगरप्रमुख साम्पाङको सोचबाट प्रेरित भएर खोटाङमा पनि अभियान सञ्चालन गरिएको जिल्ला संयोजक प्रताप राईले जानकारी दिनुभयो ।
हर्क साम्पाङले देश निर्माणका लागि श्रमलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गर्नुभएको छ । सरसफाइ अभियानमा जिल्ला सह–संयोजक उमा चाम्लिङ राईसहित करिब १०० जना समर्थक सहभागी थिए ।


