कातिक–१५ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई नगरपालिकाको पत्र

Halesi Khabar

खोटाङ, ३१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ । राज्यकोषबाट सेवासुविधा लिइरहेका जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पूर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो ।

पन्ध्र वडा रहेको जिल्लाकै ठूलो स्थानीय तह यो नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पूर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले जानकारी दिनुभएको छ । नगरपालिकाले नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, पूर्व नगरप्रमुख दीपनारायण रिजाल, पूर्वउपप्रमुख विणादेवी राई लगायतलाई आगामी कातिक–१५ गतेभित्र सम्पत्ति विवरण उपलब्ध गराउन पत्राचार गरेको हो ।

वर्तमान तथा पूर्व जनप्रतिनिधिसँगै उनीहरुका सचिवालयका कर्मचारीलाई पनि आ–आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको छ । नगरप्रमुख भट्टराईले भने निर्वाचित भएको महिना दिन नपुग्दै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।

यही असोज–२८ गते बसेको नगरकार्यपालिका बैठकले नगरपालिकाका जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गरी आफूलाई नेपालकै पहिलो पारदर्शी स्थानीय तहको जनप्रतिनिधिको रुपमा परिचित गराउने निर्णय गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ । कार्यपालिकाको निर्णयअनुसार तीन पुस्ते जग्गा, घर, सेयर, सुन, चाँदी, हिरा, मोति, गरगहना, नगद, गाडी, मोटरसाईकल वा अन्य चलअचल सम्पत्तिको विवरण बुझाउन पत्राचार गरिएको हो ।

नगरपालिकामा बुझाइएको तीन पुस्ते सम्पत्ति विवरण भविष्यमा तलमाथि भए स्वयम् जवाफदेही हुनुपर्ने पत्रमा भनिएको छ । नगरका राष्ट्रसेवक कर्मचारीलाई पनि सम्पत्ती विवरण बुझाउन भनिएको नगरप्रमुख भट्टराईले बताउनुभएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कार्यालय रहेको यो नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा नियुक्त भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो ।

नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख भट्टरार्ईले जानकारी दिनुभएको छ । कार्यपालिका बैठकले सार्वजनिक खरिदसम्बन्धी बैठक बाहेक अन्य सबै किसिमका बैठक भत्ता हटाउने, नयाँ सवारी साधन खरिद नगर्ने, बेरुजु फछ्र्यौट प्रक्रिया अगाडि बढाउने, निर्माण कार्यको कन्टिन्जेन्सी रकमको सीमा तीन प्रतिशत कायम गर्ने, नागरिकको आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्न पुराना घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।

दिक्तेल बजारमा यसअघि मापदण्ड विपरित निर्माण गरिएका स्पिड ब्रेकर (गति निर्धारण गर्ने ठाउँ)को स्तरोन्नति गर्ने, विद्यालयहरुमा अक्षयकोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा खानेपानी फिल्टर (शुद्धिकरण)गरी विद्यार्थी तथा शिक्षकहरुलाई स्वच्छ खानेपानी उपलबध गराउने निर्णय गरेको छ । यस्तै, दिक्तेल बजारमा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन निर्माणमा ठेकेदारको लापरबाही देखिएको भन्दै कानूनी कारबाही अगाडि बढाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यही भदौ–२३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारलाई समवेदना दिने तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा जेनजी पुस्ताले उठाएका सकारात्मक मागलाई सम्मान गर्दै नगरपालिका तथा मातहतका सबै कार्यालयबाट हुने सेवा प्रवाह एवम् कार्यसम्पादनमा सुधार गर्ने निर्णय गरिएको नगरप्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया