खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् र छठ पर्वलाई मर्यादित, सभ्य र सुरक्षित रूपमा मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै चाडपर्वको समयमा सामाजिक सद्भाव, भातृत्व र शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरेको छ ।
प्रचलित परम्परा अनुसार देउसीभैलो, नाचगान लगायतका सांस्कृतिक कार्यक्रम राति १०ः०० बजेसम्म मात्रै गर्न÷गराउन निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ । प्रशासनले जुवातास, लठ्ठेबाजी, भिडभाड, आतिशबाजी र मादक पदार्थ सेवन गरी अशान्ति सिर्जना नगर्न पनि अनुरोध गरेको छ ।
चाडपर्वलाई मर्यादित बनाउन प्रशासनले विष्फोटक पदार्थ तथा निषेधित वस्तुको ओसारपसार र प्रयोग नगर्नसमेत आग्रह गरेको छ । जिल्लामा शंकास्पद गतिविधि वा अपराधजन्य कार्य भए÷गरेको देखिएमा प्रहरीको टोल फ्री नम्बर १०० वा मोबाइल ९८५२८४१३२३ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
चाडपर्वलाई शान्तिपूर्ण वातावरणमा मनाउन सबैको सहयोग अपरिहार्य रहेको भन्दै सोही अपेक्षा गरिएको समेत सूचनामा उल्लेख गरिएको छ । प्रशासनको निर्देशन उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चाडपर्वको बहानामा विभिन्न ठाउँमा जुवातास खेल्ने÷खेलाउने, अधिकमात्रामा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने लगायतका घटना हुने गरेको छ । प्रशासनले चाडपर्वलाई मर्यादित, सभ्य र सुरक्षित तरिकाले मनाउन आग्रह गर्दै सुरक्षा व्यवस्थालाई समेत कडा बनाइएको जनाएको छ ।


