३१ असोज, । एमाले केन्द्रीय कमिटी बैठकमा भदौ २३ मा नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ । अध्यक्ष केपी शर्मा ओलीले त्यस दिन गोली चलाउने आदेश दिने प्राधिकार आफू नभएको दाबी गरिरहेका बेला उनीमाथि प्रश्न उठेको हो । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभएको हो ।
‘विध्वंस, विनाश र वियोगान्त पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ । अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स–साना नानीहरूको कत्लेआम भयो । खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो ?,’ उहाँले बैठकमा प्रश्न गरिन्, ‘गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?’
उहाँले ओली अध्यक्ष भएको एक दशक भए पनि नेपालको कम्युनिस्ट आन्दोलनमा भएको क्षतिको लेखाजोखा गर्नुपर्ने बताउनुभएको छ । ‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, बाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पु¥यायो ?’ तिम्सिनाको प्रश्न थियो, ‘नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो । तर त्यसलाई हामीले कस्ता– कस्ता अभ्यास र कस्ता ध्वंसकारी अभ्यास ग¥यौँ ?’
उहाँले जेन–जी आन्दोलनपछि परीक्षण भइसकेको युवा पुस्ताले बिदा लिनुपर्ने बताइन् । ‘यो जेन–जी आन्दोलनको एउटा जबर्जस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न,’ तिम्सिनाले भन्नुभयो, ’एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ ।’ उहाँले पार्टीको यही संरचना लिएर चुनाव वा आन्दोलनमा जान नसकिने बताउनुभएको छ ।
बैठकमा बोल्दै नेता ठाकुर गैरेले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । ‘बाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो । बाम – लोकतान्त्रिक सरकार पनि ढल्यो । यस्तो समयमा पार्टी रुपान्तरणको मुद्दालाई नेतृत्वको बिरोधको रुपमा बुझ्न ह्न्नु,’ उहाँले थप्नुभयो, ‘म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔं भन्ने अनुरोध गर्दछु ।’
अर्का केन्द्रीय सदस्य ईश्वरी घर्तीले पार्टीको आसन्न एघारौं महाधिवेशनमा जेन–जी पुस्तासहित युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रतिनिधि छनौट गर्नुपर्ने बताउनुभयो । ‘महाधिवेशनबाट नयाँ महाधिवेशनमा जेन–जी पुस्तासहित युवाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ’पार्टीमा टिके प्रथाले पार्टी पुनर्गठन र सुदृढीकरण हुन सक्दैन, झन् कमजोर हुन्छ भन्ने कुरा बुझौं ।’
उहाँले विघटित प्रतिनिधिसभा पुनस्र्थापना मुडभेट नहुने गरी सडक आन्दोलनभन्दा कानुनी र दलहरुबीचको राजनीतिक संवादबाट खोज्न सुझाव दिइन् ।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीमा ‘इन्ट्री र एक्जिट’ को उचित व्यवस्था नहुँदा समस्या आएको बताउनुभयो । ’हामीले अवलम्बन गरेको संगठनात्मक संरचना भित्र इन्ट्रीको राम्रो प्रबन्ध गरेका छौँ । तर एक्जिटको व्यवस्था नहुँदा अन्यौल जस्तो देखिन्छ,’ उहाँको भनाइ छ, ‘सधैँ नयाँ पुस्ताले प्रश्न गरिरहन्छ के पार्टीमा लागेका सबै कार्यकर्ता आजीवन पदमा बसिरहन मिल्छ ? भन्ने प्रश्नहरु नयाँ पुस्ताले गरिरहन्छ ।’
अर्का केन्द्रीय सदस्य अरबिन्द सिंह आमले आक्रोश अध्यक्ष ओलीमाथि भएकोले कमजोरी स्वीकार गर्नुपर्ने बताउनुभएके छ । ‘वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समुहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो,’ उहाँको भनाइ थियो ।
उहाँले दुई–दुई पटक आफैँले संसद् विघटन गरेकोले संसद् पुनस्र्थापनाको माग लिएर आन्दोलनमा जानु हाँसोको पात्र मात्रै हुने बताएका छन् । ‘हामी आम जनताका बीच घृणा र हाँसोको पात्र मात्रै हुन्छौं । चुनाव बहिष्कार गर्ने नीति अर्को भीडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन,’ उहाँको भनाइ थियो ।


