एमालेमा नेता–कार्यकर्ता दुवै सच्चिनुपर्ने बेला आएको छ : सचिव सुरेन्द्रकुमार राई

Halesi Khabar

खोटाङ, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सचिव सुरेन्द्रकुमार राईले पार्टीभित्र आत्मसुधार र नयाँ सोचको आवश्यकता रहेको बताउनुभएको छ । अहिले नेपाली जनताले हरेक राजनीतिक दलमा नयाँ नेतृत्वको खोजि भइरहेको विषय जानकारी दिनुहुँदै सचिव राईले जनताको चाहना अनुसार पार्टीहरू चल्नुपर्नेमा जोड दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्नुहुँदै सचिव राईले भन्नुभएको छ, “पुराना नेताहरू राम्रा, इमानदार र सक्षम भए पनि अहिलेको समयमा उनीहरूबाट ठूला काम हुने अपेक्षा जनतामा घटेको छ। त्यसैले पार्टीहरूले जनताको चाहना अनुसार निर्णय गर्नुपर्छ।”

सचिव राईका अनुसार अहिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेको अवस्थामा नेताहरूले देशको परिस्थिति र जनभावना अनुसार ठोस र सर्वसहमतिको निर्णय गर्न जरुरी छ। अल्पमत र बहुमतको राजनीति होइन, सर्वसहमतिको निर्णय आजको आवश्यकता हो,” उहाँले लेख्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देश र जनताको पक्षमा काम गर्ने सक्षम नेता भनेर चित्रण गर्दै उहाँले भन्नुभएको छ, “ओली नेपाली जनताको चाहना अनुसार अघि बढ्ने अब्बल नेता हो । तर, पार्टीभित्र अध्यक्ष वरिपरि रहेका केही नेताहरूले जनताको विश्वास कमजोर पार्ने काम गरिरहेको छ ।”

सचिव राईले कार्यकर्ता र नेताहरूले अध्यक्षको अन्ध–प्रशंसा गरेर होइन, गलत निर्णयको आलोचना गरेर पार्टी सुदृढ बनाउने चेत विकास गर्नुपर्नेमा पनि जोड दिनुभएको छ । “हामीजस्ता कार्यकर्ताहरूले केवल ‘अध्यक्ष जस्तो असल कोही छैन’ भन्ने होइन, आलोचनात्मक चेत राख्नुपर्छ,” उहाँले उल्लेख गर्नुभएको छ ।

सचिव राईले अन्त्यमा भन्नुभएको छ, “अध्यक्षलाई गलत रिपोर्ट दिएर भेटघाट गर्ने नेताहरू सुधारिनुपर्छ। पार्टी, देश र जनताको भावना अनुसार निर्णय गर्न सबै नेताहरूले सहयोग गर्नुपर्छ।”

तपाईको प्रतिक्रिया