शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप : आयोजक र साकेला ‘ए’को विजयी यात्रा सुरु

Halesi Khabar

खोटाङ, ३० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा वाईसिएल फुटबल कप–२०८२’ मा आयोजक योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति र साकेला ‘ए’ फुटबल टोलीले विजयी यात्रा सुरु गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको प्रतियोगितामा निर्मलीडाँडा फुटबल क्लबलाई ट्राईब्रेकरमा तथा साकेला डाँडागाउँ ‘ए’ले बुवासुङलाई १–० ले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।

आयोजक र निर्मलीडाँडाबीच भएको पहिलो खेलको निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा आयोजकले ५–३ को अन्तरले निर्मलीडाँडालाई पराजित गर्दै आयोजकले विजयी यात्रा सुरु गरेको निर्णायक मण्डलले जनाएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा साकेला डाँडागाउँ ‘ए’ले बुवासुङलाई दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक बनेको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएको थियो ।

दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु दश÷दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गरिएको आयोजक वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीलाई नगद रु तीन हजार, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगद रु दुई÷दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा जनयुद्धका शहीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरिएको थियो । शहीदहरुको सम्मानमा वडास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना गरिएसँगै वाईसिएल नेपालमा आवद्ध नेता तथा कार्यकर्ताहरु दोर्पा केन्द्रित भएका छन् ।

माओवादीको दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका शहीदहरु (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शहीद इन्दिराको वि.सं. २०५९ असार–३१ गते खोटाङको टुवाखोलामा पति माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित तथा राधाको वि.सं. २०६३ जेठ–१ गते सर्लाहीमा राज्यतर्फबाट अपहरणगरी यातना दिएर हत्या गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ ।

वाईसिएल नेपालले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरुले स्वतःस्फूर्तरुपमा पुरस्कार राशी तथा व्यवस्थापन खर्च उपलब्ध गराएको स्थानीयवासी एवम् माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभएको छ । वाईसिएल नेपालको आयोजनामा जिल्लामै पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरुसमेत उत्साहित भएका छन् ।

तपाईको प्रतिक्रिया