गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा : २० प्रतिशतभन्दा कम मत पाए सरकारमा नजाने

Halesi Khabar

३० असोज, । व्यवासायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिले खोलेको नयाँ दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने अवधारणा अघि सारेको छ । २० प्रतिशत भन्दा कम मत पाए सरकारमा सामेल नहुने पार्टीको अवधारणा छ ।

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने यसको अवरधाणा छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको यो दलम लोकतान्त्रिक मूल्य मान्यता अपनाउने उल्लेख गरेको छ ।

पार्टीको मूल संरचना र संगठनात्मक स्वरुप यसप्रकार हुनेछ ।

–पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने ।–पार्टीको जुनसुकै कार्यसमितिको पदमा सो¥ह वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने ।
–पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने ।
– सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने ।
–पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने ।
– निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने ।
– देशको सबै भुगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै संघीय स्तरमा प्रत्येक एजेण्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहनेछन् ।
– यसैगरी पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने ।

यसले राजनीतिलाई पूर्णकालिन पेशामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिने पार्टीको अवधारणा छ ।

‘हामीले आश्रय र आश्रित राजनीतिलाई वर्जित गरेका छौं । त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन । हाम्रो पूर्णकालिन कार्यकर्ता पनि हुनेछैन’ पार्टीले भनेको छ,’२० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि सामेल हुने छैनौं ।’

पार्टीको हिसाब–किताब

पार्टी आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनताहरु हुने उल्लेख छ । उनीहरुबाट प्राप्त रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा गर्ने पार्टीको हरहिसाबमा पूर्ण पारदर्शिता अपनाउने उल्लेख छ ।

आर्थिक अवधारणा यस्तो छ ः

–पार्टीलाई प्राप्त सहयोग रकम वेबसाइटमा प्रकाशित गरिनेछ ।
–वार्षिक बजेट बिनियोजन अनुसार खर्च विवरण पनि वेबसाइटमा राखिनेछ ।
–आधिकारिक लेखा परीक्षकबाट त्रैमासिक एवं वार्षिक हरहिसाब एवं वासलात तयार गरि सबैले हेर्न मिल्नेगरि पार्टीको वेबसाइटमा राखिनेछ ।

तपाईको प्रतिक्रिया