‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोली सहभागी

Halesi Khabar

खोटाङ, २९ असोज । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले आयोजना गरेको ‘शहीद इन्दिरा–राधा वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा २६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ वाईसिएल नेपाल वडा कार्यसमितिले आयोजना गरेको फुटबल प्रतियोगितामा जिल्लास्थित विभिन्न स्थानीय तहका २६ टोली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको खुला वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन भोलि (असोज–३० गते) ११ः०० बजे विधिवतरुपमा गरिने आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राईले गर्नुहुने आयोजकले जनाएको छ ।

दोर्पा खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुरस्कार क्रमशः रु ३० हजार, रु २० हजार र रु दश÷दश हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गरिएको आयोजक वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाका अध्यक्ष उत्तम राईले जानकारी दिनुभएको छ । प्रतियोगिताको विद्यागततर्फ अनुशासित टोलीलाई नगद रु तीन हजार, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट प्रशिक्षकलाई नगद रु दुई÷दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जनयुद्धका शहीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरुसमेत राखिएको वडास्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो खेल भोलि दिउँसो १ः०० बजे आयोजक वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडा र निर्मलीडाँडा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे जनयुद्धका क्रममा तत्कालीन शाही नेपाली सेनाले गोली हानी हत्या गरेका शहीदहरु (इन्दिरा कार्की ‘हिमाली’ र राधा भुजेल ‘अनिशा’)को सम्मान तथा सम्झनामा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शहीद इन्दिराको वि.सं. २०५९ असार–३१ गते खोटाङको टुवाखोलामा पति माओवादी खोटाङका नेता दिलकाजी कार्कीसहित तथा राधाको वि.सं. २०६३ जेठ–१ गते सर्लाहीमा राज्यतर्फबाट अपहरणगरी यातना दिएर हत्या गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ ।

शहीदहरुको सम्मानमा वाईसिएल नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले वडास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना गरेपछि वाईसिएल नेपालमा आवद्ध जिल्लास्थित नेता तथा कार्यकर्ताहरु दोर्पा केन्द्रित भएका छन् । वाईसिएल नेपालको आयोजनामा जिल्लामै पहिलो पटक दोर्पाचिउरीडाँडामा हुन लागेको फुटबल प्रतियोगिताका लागि देश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरुले स्वतःस्फूर्तरुपमा पुरस्कार राशी तथा व्यवस्थापन खर्च उपलब्ध गराएको स्थानीयवासी एवम् माओवादी केन्द्र प्रदेश समिति सदस्य रविन खम्बुले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया