खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । “स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवम् शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ । नगरस्तीय तथा वडास्तरबाट विनियोजन गरिएका बजेटबाट पारिश्रमिक भुक्तानी लिनेहरु रहन्छन्”, उहाँले भन्नुभयो, “कार्यपालिकाको निर्णय लगत्तै अस्थायी नियुक्ती लिएर काम गरिरहेका कर्मचारी तथा शिक्षकको विवरण सङ्कलन सुरु गरिएको छ । उहाँहरुलाई आगामी कातिक–१ गतेबाट लागू हुनेगरी स–सम्मानपूर्वक बिदाई गर्ने निर्णय गरेका छौँ ।”
कार्यपालिका बैठकले सार्वजनिक खरिदसम्बन्धी बैठक बाहेक अन्य सबै किसिमका बैठक भत्ता हटाउने, नयाँ सवारी साधन खरिद नगर्ने, बेरुजु फछ्र्यौट प्रक्रिया अगाडि बढाउने, निर्माण कार्यको कन्टिन्जेन्सी रकमको सीमा तीन प्रतिशत कायम गर्ने, नागरिकको आन्तरिक आम्दानीको स्रोत वृद्धि गर्न पुराना घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । यस्तै, आगामी कातिक–२० गतेभित्र सबै कार्यपालिका सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने, पूर्व जनप्रतिनिधिहरुलाई समेत आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न अनुरोध गर्ने, नगरपालिकाभित्र सङ्घ, प्रदेश तथा विभिन्न कार्यालयबाट दश वर्षभित्र सञ्चालन भएका बजेट, कामको विवरण तथा काम गर्ने संस्था एवम् उपभोक्ता समितिका पदाधिकारीको विवरण सङ्कलन गर्ने निर्णय गरिएको मङ्गलबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
दिक्तेल बजारमा यसअघि मापदण्ड विपरित निर्माण गरिएका स्पिड ब्रेकर (गति निर्धारण)को स्तरोन्नति गर्ने, विद्यालयहरुमा अक्षयकोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा खानेपानी फिल्टर (शुद्धिकरण)गरी विद्यार्थी तथा शिक्षकहरुलाई स्वच्छ खानेपानी उपलबध गराउने निर्णय गरेको छ । यस्तै, दिक्तेल बजारमा निर्माणाधीन ५० शय्याको अस्पताल भवनमा ठेकेदारको लापरबाही देखिएको भन्दै कानूनी कारबाही अगाडि बढाउने निर्णय गरिएको नगरप्रमुख भट्टराई पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।
नगरपालिकाले यही भदौ–२३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारलाई समवेदना दिने तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा जेनजी पुस्ताले उठाएका सकारात्मक मागलाई सम्मान गर्दै नगरपालिका तथा मातहतका सबै कार्यालयबाट हुने सेवा प्रवाह एवम् कार्यसम्पादनमा सुधार गर्ने निर्णय गरिएको नगरप्रवक्ता एवम् वडा नं. ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ ।
नगरप्रमुख भट्टराईको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा नगर उपप्रमुख विशन राई, वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राई, कार्यपालिका सदस्यहरु अञ्जना केसी (बस्नेत), मीना कार्की, धनशोभा राई लगायतको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनपछि पहिलो पटक बसेको कार्यपालिकाको बैठकले पारित गरेको नौँ बुँदे निर्णय नगरपालिकाले औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।


