खाना पकाउने ग्याँसबाट हुने आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो प्रदर्शन

Halesi Khabar

खोटाङ, २६ असोज । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले आज (आइतबार) दिक्तेल बजारमा खाना पकाउने ग्याँसबाट हुने आगलागीका घटना नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजना तथा जिल्लास्थित तीनवटै सुरक्षा निकायको व्यवस्थापनमा दिक्तेल बजारस्थित स्थानीय हेलिप्याडमा संयुक्त डेमो प्रस्तुत गरेका हुन् ।

रणभीम गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म हलेसी खोटाङले संयुक्तरुपमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रस्तुत गरेका थिए । उनीहरुले फलाम, काठ, ग्याँस सिलिन्डरमा आगलागी हुँदा नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायका बारेमा जनप्रतिनिधि, विद्यार्थी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा लगायतलाई सहभागी गराएर डेमो प्रस्तुत गरेका हुन् ।

डेमो प्रदर्शन कार्यक्रममा विशेषगरी खाना पकाउने ग्याँस सिलन्डरमा आगो लागेमा तुरुन्त ग्याँसको भल्भ बन्द गर्न, भिजेको कपडा प्रयोग गरी ढाक्न र आगो नियन्त्रणमा नआए तत्काल प्रहरीलाई खबर गर्नुपर्ने सन्देश दिइएको थियो । आगलागी भएको समयमा नियन्त्रण गर्न आवश्यक सामाग्रीहरु पनि प्रस्तुत गरेका थिए ।

आगलागीका घटना नियन्त्रण गर्न सबैको सहयोग तथा सहकार्य आवश्यक हुने भएकाले समुदायलाई समेत सहभागी गराएर डेमो प्रस्तुत गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ । “अहिले शहरदेखि गाउँ–गाउँसम्मका भान्साहरुमा सिलिण्डर ग्याँसको प्रयोग भइरहेको छ । नियमित रुपमा ग्याँसको प्रयोग जति सजिलो छ, सचेत नभएर उति नै जोखिमपूर्ण पनि छ”, उहाँले भन्नुभयो, “प्रज्वलनशील पदार्थ भरिएको ग्याँसका कारण र कतिपय अवस्थामा मानवीय त्रुटिका कारण दुर्घटना हुने खतरा हुन्छ । यसलाई कसरी सही तरिकाले सदुपयोग गर्न सकिन्छ र सचेतता अपनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न डेमो प्रस्तुत गरेका हौँ ।”

डेमो प्रस्तुत कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकी, हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपाने, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । खुलारुपमा प्रर्दशन गरिएको कार्यक्रममा सहभागीहरुले आगलागी नियन्त्रण सम्बन्धी सुरक्षाकर्मी प्रस्तुत गरेको डेमो उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया