दिक्तेल–दुम्ली सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जनश्रमदान अभियान

Halesi Khabar

खोटाङ, २५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्रै महिना यातायात सञ्चालन गर्न स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कदेखि मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी बन्ने गरेका छन् । दैनिक बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने र सडक सम्याउने काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभएको छ ।

दिक्तेलस्थित आचार्य गाउँको बसपार्कमा शनिबार औपचारिक कार्यक्रम गरेर सुरुवात गरिएको जनश्रमदान अभियानमा वृद्धवृद्धादेखि युवासम्म तथा महिला र केटाकेटी सबै उमेर समूहका स्थानीय स्वतःस्फूर्तरुपमा जुटेका छन् । अवरुद्ध सडक मर्मतका लागि नगरपालिकासँग पटक–पटक अनुरोध गर्दा पनि काम नभएपछि स्थानीयले आफैं जुटेर जनश्रमदान अभियान थालेका हुन् ।

अवरुद्ध सडक मर्मतपछि बिरामी बोक्ने एम्बुलेन्स सहजै चल्ने, बेसीबाट धान, पराल, दाउरा ल्याउन सजिलो हुने र चाडपर्वका समयमा चेलीबेटीलाई माइत घर आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको स्थानीय टंकप्रसाद आचार्यले बताउनुभएको छ । हिउँद लागेसँगै बेसीबाट धान र दाउरा ल्याउन आवश्यक पर्दछ । बाटो नराम्रो हुँदा हिँड्न पनि कठिन छ । त्यसैले अहिलेको श्रमदान हाम्रो बाध्यता हो”, उहाले भन्नुभयो, “सडक स्तरोन्नतिका लागि नगरपालिकाले रु १५ लाख बजेट विनियोजना गरेको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटले ग्राभेल हाल्ने तयारी गरिएको छ ।”

वर्षाद्को समयमा अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि नगरपालिकामा पटक–पटक अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि जनश्रमदान अभियान सुरु गरिएको स्थानीय झमप्रसाद आचार्यले बताउनुभएको छ । “नगरपालिकासँग जेसिभी भएपनि हाम्रो सडक मर्मतका लागि कहिल्यै प्राथमिकता दिइएनन् । हामीले धेरै पटक गएर आग्रह ग¥यौँ, तर कहिल्यै सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “अन्तमा जनता आफै जुटेर सडक मर्मत गर्नुपर्ने अवस्था सिर्जना भयो । वर्षाद्को पानीले अवरुद्ध सडक बाह्रै महिना सञ्चालनमा ल्याउन स्थानीयको सक्रियतामा जनश्रमदान अभियान थालेका हौ ।”

जनश्रमदानमार्फत सडक मर्मत गरेपछि बिरामी ओसारपसारका साथै एम्बुलेन्स, अटो, मोटरसाइकल र ट्रयाक्टर सहज रूपमा सञ्चालन हुने स्थानीयले विश्वास गरेका छन् । वर्षायाममा बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्ने अवस्था अब अन्त्य हुने आशा गरिएको स्थानीयले बताएका छन् ।

वि.सं. २०६५ सालमा निर्माण गरिएको सडक अवरुद्ध हुँदा आचार्य गाउँका करिब ८०० घरधुरी तथा छिमेकी स्थानीय तह साकेला गाउँपालिकाको रतन्छा र बाँझेच्यानडाँडाका स्थानीयले सास्ती खेप्दै आएका छन् । निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडक मर्मत तथा स्तरोन्नतिमा तीनवटै तहका सरकारले चासो नदिँदा आफूहरुले समस्या भोग्नु परेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया