एकतर्फी खुल्यो बीपी राजमार्ग

Minakshi Rai

२४ असोज, । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो ।

सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । उनका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ ।

सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण गरी बगर मिलाउने, खाल्डा पुर्ने र क्षतिग्रस्त भागमा अस्थायी पुनर्निर्माणका काम गरिएको हो । सडक मर्मत कार्य सोमबारदेखि सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडालाई सबैभन्दा बढी क्षति पु¥याएको थियो ।

त्यसका साथै कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो र तल्लो) तथा मान्ती (माथिल्लो र तल्लो) क्षेत्रमा पनि सडक भत्किएको थियो। सिन्धुलीतर्फ बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल) नजिक पनि क्षति पुगेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको निरीक्षण गरेका थिए ।

उनले मर्मत कार्य तीव्र बनाउन थप जनशक्ति र उपकरण परिचालन गर्न तथा बत्तीको व्यवस्था गरी राति पनि काम सञ्चालन गर्न निर्देशन दिएका थिए ।

गत वर्षको असोजको बाढीपहिरोले क्षतबिक्षत बनाएको बीपी राजमार्गमा बनाइएको डाइभर्सन यसपटकको बाढीले सबै बगाएको थियो ।

तपाईको प्रतिक्रिया